Logo
१६ चैत्र २०८०, शुक्रबार

सुन्तलाखेतीले बदलिएको दोसल्लेबासीको जीवनशैली

अक्षरपाटी
२०७९ मंसीर १४ , बुधबार ०३:११ मा प्रकाशित

गलेश्वर, १४ मंसिर । मायादेवी पुन बिहान उठेदेखि राति अँध्यारो नहुँदासम्म सुन्तला बगैँचामै व्यस्त हुन्छिन् ।

बिहान खाए बेलुकी के खाउँ ? जाडो बढ्दा न्यानो के लाउँको अवस्था भोगेकी पुनको दैनिकीमा अहिले परिवर्तन आएको छ। ३८ वर्षीया उनको जीवनशैली सुन्तला खेतीले फेरिदिएको हो।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि अलि वर कालीगण्डकी नदीको पक्की पुल पार गरेर दायाँ मोडिएपछि यातायातका साधनमार्फत करिब २० मिनेटको यात्रापछि पुगिन्छ अन्नपूर्ण गाउँपालिका ७ मा पर्ने दोसल्ले गाउँ।

शिरमा टिकोट र पुछारमा कालीगण्डकी नदी अनि बीचमा हरिया डाँडा र जंगलको बीचमा पश्चिम दक्षिण मोहोडा गरेर फैलिएको चिटिक्कको छ दोसल्ले गाउँ।

यो गाउँमा ५२ परिवारको बसोबास छ। सबै परिवारका साना ठूला सुन्तलाका बगैँचा छन्। तिनै बगैँचामा फलेका सुन्तला बिक्री गरेर यहाँका बासिन्दाको जीवनशैलीमा निकै परिवर्तन भएको छ।

‘हाम्रा लागि सुन्तलाको बगैँचा नै युरोप, अमेरिका हो। सुन्तलाका बोट हाम्रा रोजगारदाता हुन्। छोराछोरीको जस्तै माया लाग्छ यी बोटको’, दोसल्लेको सुन्तला बगैँचामा हँसिली मायादेवी पुनले भनिन्, ‘गत वर्ष दुई लाखको सुन्तला बोटबाटै बेचेँ, यस वर्ष नयाँ बोटमा फल लागेको छ, उत्पादन राम्रो भएकाले निर्माण व्यवसायीले चार लाखमा बोटबाटै सुन्तला खरिद गरेका छन्।’

दोसल्लेका मिलन गर्बुजा, डिलमाया पुन, प्रेमबहादुर पाइजा लगायतका ५० कृषकले सुन्तलाबाट गत वर्षको भन्दा दोब्बर आम्दानी लिएका छन्।

सबै कृषकका बगैँचामा लटरम्मै सुन्तला छन्। सुन्तला खरिद गर्न बगैँचामा नै आएका व्यापारीसँग उनीहरु मोलमोलाइमा व्यस्त छन्।

भर्खरै सम्पन्न चुनावको मत सङ्ख्या गन्ती हुँदै गर्दा दोसल्लेका कृषकहरुलाई भने सुन्तलाको हिसाब किताब गर्न भ्याइनभ्याइ छ।

०५८ सालदेखि दोसल्लेमा व्यावसायिक सुन्तला खेती सुरु भएको अन्नपूर्ण गाउँपालिकाकी पूर्वउपाध्यक्ष केशमाया मगरले बताए।

‘पहिला बारीमा दुई मुरी कोदो फल्थ्यो, वैदेशिक रोजगारी वा परम्परागत खेतीपातीबाट नै यहाँका बासिन्दाको जीवन चल्थ्यो’, मगरले भने, ‘तर अहिले अवस्था फेरिएको छ। विदेश गएका पनि गाउँमा नै फर्केर सुन्तला खेतीमा लागेका छन्। गाउँको कोदोबारी अहिले सुन्तला बगैँचामा परिणत भएको छ।’

सुन्तला खरिद गर्न काठमाडौं, चितवन र पोखरादेखि व्यापारी बगैँचामा नै आउछन्।

‘बिक्रीको कुनै चिन्तै छैन। बोटमा सुन्तला फलेपछि घरमै पैसा आउँछ’, दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजा भन्छन्, ‘अरू ठाउँको भन्दा यहाँको सुन्तला हेर्दा आकर्षक र खाँदा रसिलो हुने भएकाले व्यापारी पहिला यहाँका सुन्तला नै खोज्दै आउँछन्।’

यस वर्ष कात्तिकको तेस्रो सातासम्म २० व्यापारी आएका छन्। गाउँका प्रायः सबै किसानका सुन्तला बोटबाट नै बिक्री भइसकेका छन्। व्यापारीले बगैँचाबाटै प्रतिकिलो ९५ का दरले सुन्तला खरिद गर्छन्।

दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष पाइजाले गत वर्ष ६२ हजार पाँच सय किलो सुन्तला निकासी हुँदा ७५ लाख गाउँमा भित्रिएको र यस वर्ष करिब दुई सय नयाँ सुन्तलाका बोटमा पनि फल लागेको र उत्पादन पनि राम्रो भएकाले करिब दुई करोडको हाराहारीमा सुन्तला निकासी हुने जानकारी दिए।

तथ्यांकमा म्याग्दीका सुन्तला
म्याग्दीमा ६ सय ४० हेक्टर क्षेत्रफलमा सुन्तला खेतीले ढाकेकामा तीन सय ४५ हेक्टरमा रहेको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

गत आर्थिक वर्ष २०७८÷७९ मा विगतका वर्षको तुलनामा भन्दा सुन्तला उत्पादन बढेको बताउँदै कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले दुई हजार ३० मेट्रिक टन सुन्तला उत्पादन भई १० करोडभन्दा धेरैको कारोबार भएको बताए।