Logo
३१ भदौ २०८२, मंगलबार

नेपाल एयरलाइन्सले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्ने

अक्षरपाटी
२०७९ मंसीर १५ , बिहीबार ०७:१२ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ।

निगमलाई आगामी पुस ४ गतेदेखि ती दुई गन्तव्यमा उडान सञ्चालन गर्नेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान अनुमति दिएको हो।

निगमका प्रवक्ता अर्चना खड्काले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्ने उडान तालिका स्वीकृत भएको जानकारी दिइन्।

उनका अनुसार साताको दुई दिन (आइतबार र मंगलबार) काठमाडौं–दोहा–भैरहवा–काठमाडौं र साताको एक दिन क्वालालम्पुरदेखि भैरहवा उडान गरेर सो जहाज काठमाडौं आउनेछ।

यसैबीच निगमले भारतको नयाँदिल्ली गन्तव्यमा साताको १४ उडान गर्ने भएको छ।

यसअघि कटौती भएको दिल्लीको सबै उडान हुनेगरी तालिका पुनःस्वीकृत भएको निगमले जनाएको छ।

निगमले काठमाडौं–दिल्ली गन्तव्यमा अब दैनिक दुई उडान गर्नेछ। पछिल्लो एक महिनादेखि निगमले सो गन्तव्यमा साताको १० उडान गर्दै आएको थियो।

तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अनिवार्य उडान गर्नुपर्ने क्यानको बाध्यकारी निर्णपछि निगमको दिल्ली उडान कटौती भएको थियो।

नेपाल एयरलाइन्स