

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स (नेवानी) ले खाडी क्षेत्रमा बढ्दो तनावका कारण साउदी अरेबियाको दमाम र कतारको दोहामा तय गरिएका उडानहरू रद्द गरेको जनाएको छ।
कम्पनीले बुधबार जारी गरेको सूचनामा हालको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै ती गन्तव्यका उडान स्थगित गरिएको उल्लेख गरेको छ। साथै दुबई, दोहा र दमामका आगामी उडानबारे जानकारी लिन आधिकारिक वेबसाइट वा तोकिएको सम्पर्क नम्बरमार्फत पुष्टि गरेर मात्र विमानस्थल आउन यात्रुलाई आग्रह गरिएको छ।
खाडी क्षेत्रमा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय हवाई मार्ग प्रभावित बनेसँगै नेवानी मात्र नभई अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सका उडानहरू समेत प्रभावित भइरहेका छन्।
एयरलाइन्सले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै परिस्थिति सामान्य भएपछि उडान तालिका पुनः सञ्चालन गरिने जनाएको छ। यात्रुहरूलाई पछिल्लो अवस्थाबारे नियमित रूपमा अद्यावधिक जानकारी लिन अनुरोध गरिएको छ।
नेपाल एयरलाइन्स



