Logo
७ वैशाख २०८१, शुक्रबार

गाउँघरमा देखिन छाडे अरिंगालको गोला, खेतीपातीमा प्रतिकुल असर

अक्षरपाटी
२०७९ मंसीर १५ , बिहीबार ०२:१२ मा प्रकाशित

फुङ्लिङ १५ मंसिर। मौरी शब्द सुन्नासाथ जो कोहिले मह चाखेको कल्पना गर्छन् र मुख मिठ्याउँछन्।

अरिंगाल सुन्नासाथ त्यसले चिल्दाको सास्ती स्मरण गर्छन्। अझ राजनीतिमा त यसको बिम्ब नै गलत बनेको छ।

पहाडी क्षेत्रमा प्रशस्त पाइने अरिंगाल आजभोलि देख्न मुस्किल हुँदै गएको छ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ का चिरन राई एक समयका अरिंगाल सिकारी थिए।

उनी दिनभर अरिंगाल उडेको पछ्याउन धेरै टाढाटाढासम्म पग्थे। विशेषगरी बिहान सूर्योदयको समय र सूर्यास्तको समयमा डाँडामा बसेर अरिंगाल उडेको माउ हेर्दै नजिक वा टाढा छ भत्रे सजिलै पत्ता लगाउँथे।

तर आजभोलि अरिंगाल भेटिन छाडेसँगै अरिंगालको सिकार गर्न छोडेका छन्।

पाँच वर्षअगाडि कात्तिक र मंसिरमा अरिंगालको माउ उडेको पछ्याउँदै गोलो पोल्नमा व्यस्त हुने राईका लागि आजभोलि फुर्सद मिलेको छ।

सूर्योदय र सूर्यास्तको किरणसँगै उडेको देखिने अरिंगालका माउ अचेल देख्न मुस्किल हुँदै गएको राईको भनाइ छ।

सोही गाउँमा शहरमान राई र राजकुमार राई पनि विगतका वर्षहरुमा प्रख्यात अरिंगाल सिकारी उपनामले परिचित नाम हो। दिनमा अरिंगालको गोलो पत्ता लगाएपछि बेलुका पोल्ने र झार्ने काम गर्थे।

बिस्तारै अरिंगाल लोप हुँदै गएसँगै उनीहरुले अरिंगालको सिकार गर्ने पेसा परिर्वतन गरेका छन्।

सहरमान राई अहिले मिस्त्री काममा व्यस्त छन, भने राजकुमार राई अलैँची खेती गर्न थालेका छन्।

विगतमा गाउँघर वरिपरिका जंगलहरुमा तथा ठूलाठूला रूखको हाँगा र चट्टानमा अरिंगालको गोलो देख्न सकिन्थ्यो।

तर आजभोलि जंगल भिर पहाड तथा रूखका हाँगाहरुमा अरिंगाल देख्न मुस्किल हुँदै गएको फक्ताङलुङ गाउँपालिका ६ का वसन्त लिम्बूले बताए।

लिम्बूले भने, “केही वर्षअगाडि घरको छानोमा समेत अरिंगालको गोलो देख्न पाइन्थ्यो तर आजभोलि जंगलमा समेत देख्न मुस्किल हुँदै गएको छ।”

जैविक विविधताको क्षेत्रमा लामो समय काम गर्दै आएका हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार अरिंगाल एक प्रकारको समूहमा बस्ने विषालु किरा हो। यसको देख्न सक्ने क्षमता धेरै हुन्छ।

अरिंगालले मौसमअनुसार आफ्नो घर फेर्ने यो किरा जमिनमुनि र अग्लाअग्ला रूखको हाँगामा गोलो बनाएर बस्ने गर्दछ।

सन् २०१८ मा इकोलोजिकल इन्टोमोलोजी जर्नलमा ‘हामी किन मौरीलाई माया र अरिंगाललाई घृणा गर्छौं’ भत्रे एउटा अनुसन्धानात्मक लेख प्रकाशित भएको पाइन्छ।

सेइरिन सम्नर, जर्जिया ल र अलसान्ड्रो सिनीको संयुक्त रूपमा प्रकाशित उक्त लेखले मौरी र बारुलाको प्रकृतिमा खेल्ने भूमिका समान रहेको उल्लेख गरिएको छ।

यिनीहरुले बिरुवालाई परागसेचनमा सघाउँछन्। विशेष गरेर मौरीले परागसेचनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अरिंगाल÷बारुला चाहिँ किरा–फट्याङ्ग्रा खाएर खेतीपातीमा सघाउँछन्। अरिंगालले बालीमा लाग्ने किरा खाएर कीट नियन्त्रणको काम गर्ने उल्लेख छ।

सो अनुसन्धानले ४५ देशका सात सय ५० जना मानिसहरूमा गरेको सर्वेक्षणमा सहभागीले अरिंगाल भन्ने बित्तिकै उनीहरूको टोक्ने (खिल), रिस उठ्दो र खतरनाक किरा सम्झिए भने मौरी भत्रे बित्तिकै मह र परागसेचन सम्झिएको उल्लेख छ।

त्रिभुवन विश्वविद्यालयका कीटविज्ञ दयाराम भुसालका अनुसार अरिंगालहरू विशेषतः जंगलमा बस्ने स्वभावका हुन्छ । अरिंगालले आफूलाई चाहिने सीमित मात्रामा मह उत्पादन गर्छ।

मौरी र अरिंगाल दुवै उस्तै भए पनि टोकाइ फरक हुने भुसालले बताए। मौरीले एक पटकमात्रै टोक्छ, जुन उसका लागि हानिकारक हुन्छ। कारण खिलसँगै मौरीको पाचन प्रणालीको केही भाग नशा छाड्ने गर्छ।

अरिंगाल÷बारुलाले पटकपटक टोक्ने भएकाले मानिसलाई विभित्र प्रकारको दुष्प्रभाव पर्छ। एकै पटक धेरै प्रकारको एलर्जीको सामना गर्नुपर्ने भएकाले प्रतिरोध गर्न नसक्ने अवस्था हुने अनुसन्धानहरूमा देखाइएको छ।

मौरी तथा अरिंगालका खिलमा विशेषगरी मेलिटिन र एपामिन नामक पदार्थ रहेको हुन्छ।

मेलिटिन एउटा विषालु पदार्थ भएकाले मानिस वा अन्य जन्तुको कोषलाई छेड्ने र मार्ने काम गर्छ भने एपामिन रक्तनली हुँदै दिमागसम्म पुग्ने र रक्तसञ्चारमा अवरोध गर्ने अनुसन्धानहरूमा पाइएको छ।

बारुला÷अरिंगालहरूमा फोसपोफोलिएज–ए, बी, अर्लाम फोरोमोन्स, ह्यालारोनिडेज, एमसिडी पेप्टाइड, वास्प काइनिन, हिस्टामाइन, सेरोटोनिन, डोपामाइन जस्ता तत्वहरू पाइन्छ।

संसारमा १७ हजार प्रजातिका मौरीको पहिचान भएको छ भने नेपालमा ६ प्रजाति पाइन्छन्। तिनमा चार रैथाने प्रजातिका पर्दछन् । नेपालमा बारुला÷अरिंगाल भने ११ प्रजाति पाइन्छ ।

यी प्रजाति असार÷साउनदेखि मङ्सिर÷पुससम्म सक्रिय हुने त्रिवि जीवविज्ञान विभागबाट गंगा काफ्लेले गरेको शोधपत्रमा उल्लेख गरिएको छ।

अरिंगालको जीवन चक्र
अरिंगालको जीवन चक्र मौरी, पुतली, झिँगा जस्तै फुलबाट लार्भा, लार्भाबाट प्युपा र प्युपाबाट वयस्क बत्रे गर्दछ। सबैभन्दा पहिले एक अरिंगालले आफू मात्र अट्ने सानो चाका बनाएर दुई÷चारवटा फुल पारी बाहिरपट्टि रूखका बोक्राको धुलोको लेप बनाएर टाल्छ।

फुलबाट विभित्र अवस्थाहरू पार गरेर १५ देखि २० दिनमा दुई चारवटा अरू वयस्क अरिंगाल थपिन्छन्। यसैगरी जति जति अरिंगालको सङ्ख्या बढ्दै जान्छ गोलाको आकार पनि त्यति ठूलो हुँदै जान्छ।

अरिंगालको गोलोको आकार हेरेर योभित्र बस्ने अरिंगालहरू धेरै छन् अथवा थोरै छन् भनेर सजिलै अनुमान लगाउन सकिन्छ। अरिंगालहरू एक गोलोमा एक वर्षसम्म बस्छन्।

पुस÷माघमा चिसो मौसमका कारण अरिंगालहरु गोलो छाडेर अलग अलग जान्छन्। कति त मर्छन् पनि। गर्मी सुरु भएलगत्तै बचेका अरिंगालले छुट्टाछुट्टै गोला बनाउँछन्।

अरिंगालहरुले मौरी, झिङ्गा आदि किराहरूलाई आफ्नो आहार बनाउँछन्।

अरिंगाल भित्र जातअनुसार ठूला रूखका टुप्पा, भिर पहरा, कुइनेटा, पाखा, खरबारी, कान्ला र ढुंगाको कापतिर बस्ने गर्छ। विशेषतः कालो अरिंगाल, रातो अरिंगाल र लाटा अरिंगाल रूखमा गोला बनाएर बस्छन्।

भिरपहरा, टोड्का, कुइनेटा, पाखा, खरबारी, कान्ला र ढुंगाको कापतिर गोला लगाउने गर्छन्।

अरिंगाल