Logo
१२ वैशाख २०८१, बुधबार

बागलुङको ‘बञ्जीजम्प’मा पर्यटक झुम्मिदै

अक्षरपाटी
२०७९ मंसीर १५ , बिहीबार ०५:१२ मा प्रकाशित

ढोरपाटन, १५ मङ्सिर। हेटौँडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आए।

तीन पटकसम्म आउँदा पनि उनलाई घुमेर धित अझै मरेको छैन। घिमिरे तीन दिनदेखि कुश्मामै बसेर यहाँ वरपर निर्माण भएका लामा तथा अग्ला झोलुङ्गे पुल, जिपलाइन, बञ्जीसँगै स्काइ साइक्लिङको अवलोकन गरिराखेका छन्।

दुईपटक त उनले बञ्जीजम्प गरिसके। परिवारसहित घुम्न आएका घिमिरे अझै केही दिन यहाँ रमाउने योजनामा छन्। यहाँ स्वच्छ वातावरण र रमाइलो गर्ने माध्यम धेरै भएको हुँदा अझै केही दिन बागलुङ र पर्वतमा रहने घिमिरे सुनाए।

हेटौँडाको कोलाहलबाट यहाँ घुम्न आउँदा शारीरिक र मानसिक रुपमा स्वस्थ बनेको उनको भनाइ छ।

घिमिरे भन्छन्, ‘म अहिलेसम्म तीनपटक बञ्जीमा आएँ, दुईपटक त बञ्जीजम्प पनि गरेँ तर अझै पनि मेरो रहर मेटिएको छैन, यहाँ बसिरहुँ, घुमिरहुँ लाख्छ, हेटौँडामा बस्दा दिमाग ह्याङ्ग भएको थियो, यहाँ आएपछि रिफ्रसमेन्ट भएको छ, यो हाम्रो पारिवारिक घुमघाम हो अझै केही दिन बागलुङ र पर्वतमा रहेका घुम्ने ठाउँ अवलोकन गरेर फर्किने छौँ।’

चितवनबाट बञ्जीजम्प गर्न बागलुङ आएकी रजनी ढकालले यो ठाउँ निकै रमाइलो लागेको बताइन्।

टिकटक र फेसबुकमा धेरैले बञ्जीजम्प गरेको देखेपछि आफू पनि आएको सुनाइन्। ढकालले भनिन्, ‘बञ्जी गर्दा सुरुमा निकै डर लागेको थियो, तर हाम फालेपछि तल पुग्दा निकै रमाइलो हुँदोरहेछ, फेरि एकपटक बञ्जी गर्ने रहर लागेको छ, बिदा मिलाएर अर्कोपटक आउने मन छ।’

उनले योभन्दा होचो स्थानमा रहेका बञ्जीमा आफूले यसभन्दा अगाडि पनि बञ्जी गरेको भन्दै यहाँ गर्दा निकै आनन्द आएको बताइन्।

बञ्जीसँगै तल कालीगण्डकी नदी र माथि धवलागिरि हिमालको दृश्यले आफूलाई मोहित बनाएको ढकालले सुनाइन्। उनी यस्तो ठाउँ संसारमा जहाँकहीँ नहुने बताउँछिन्।

‘यस्तो ठाउँ विश्वमा सायदै हुन्छन् होला, बञ्जीजम्पको तलपट्टि पवित्र कालीगण्डकी नदी, माथि हेर्दा धवलागिरि हिमाल देखिँदोरहेछ, यो ठाउँ साँच्चिकै स्वर्गजस्तै छ’, उनले भनिन्।

पोखराबाट घुम्न आएकी ८३ वर्षीया जमुना अधिकारीले यो ठाउँ र बञ्जी निकै रमाइलो लागेको बताइन्।

घिमिरेले भनिन्, ‘नाति केटाले मोबाइलमा यो बञ्जीको भिडियो देखाएको थियो, भिडियो देख्दा मलाई निकै रमाइलो लाग्यो, आज यहाँ आउने मौका मिलेको छ, म त बूढी मान्छे आज हो कि भोलि, यो देख्न पाउँदा खुसी लाग्यो, यो बनाउनेलाई धन्यवाद छ।’

बञ्जीजम्प द क्लिप प्रालिमार्फत सञ्चालनमा आएको हो। बञ्जीजम्पमा अहिले दैनिक ५० जनाले बञ्जी गर्ने द क्लिप प्रालिका सञ्चालक प्रकाश प्रधानले बताए।

उनले दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक बञ्जीमा घुम्न आउने गरे पनि सीमित मान्छेले मात्रै साइक्लिङ र बञ्जी गर्ने गरेको बताए। पछिल्लो समय विदेशी पर्यटकको आगमन पनि बढ्दै गएको उनको भनाइ छ।

विसं २०७३ देखि पुलको निर्माण सुरु गरिएको थियो भने ०७६ सम्म आइपुग्दा रिसोर्टसमेत निर्माण सकिएको थियो।

यसको लम्बाइ पाँच सय २५ मिटर छ। खोलादेखि पुलको उचाइ दुई सय २८ मिटर छ। कम्पनीले विश्वकै दोस्रो अग्लो बञ्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ।

बञ्जीजम्पका कारण बलेवा र कुश्मामा व्यापारव्यवसाय बढ्दै गएको छ।

बञ्जीजम्प