Logo
१६ वैशाख २०८१, आईतबार

प्रधानमन्त्री देउवा र डा राउतबीच सरकार गठनबारे छलफल, आजै दाहालसँग भेट

अक्षरपाटी
२०७९ मंसीर १५ , बिहीबार ०९:१२ मा प्रकाशित

काठमाडौं १५ मंसिर। प्रधानमन्त्री शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा सिके राउतले भेटवार्ता गरेका छन्।

कांग्रेस नेता विमलेन्द्र निधिले राउतलाई प्रधानमन्त्री निवाशमा भेटवार्ताको पहल गरेको सामाजिक सञ्जालमा लेखेका छन्। यसअघि उनले मधेस प्रदेशमै राउतलाई भेटेका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सरकार गठनमा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच आगामी दिनमा हुनसक्ने सहकार्यका विषयमा छलफल भएको हो।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तराई मधेसको नयाँ शक्तिका रूपमा स्थापित जनमत पार्टी सत्तारुढ गठबन्धनसँग सहकार्य गर्न तयार रहेको सचिवालयले जनाएको छ।

प्रतिनिधिसभा सदस्यमा डा राउतले सप्तरी २ बाट ३५ हजार ४२ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

समानुपातिकतर्फ सो पार्टीले हालसम्म कुल तीन लाख ९४ हजार दुई सय ७६ मत प्राप्त गरेको छ। साउतसँग प्रतिनिधिसभामा पाँच सदस्य रहने प्रारम्भिक आकलन गरिएको छ।

बालुवाटारबाट निश्किएका राउतले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका छन्। उनले दाहालसँग पनि सरकारमा सामेल हुनेबारे सकारात्मक छलफल गरेकाे सचिवालयले जनाएको छ।

शेरबहादुर देउवा सिके राउत