Logo
१६ चैत्र २०८०, शुक्रबार

बाख्राले बाली खाएको विषयमा विवाद हुँदा धनुषामा एकजनाको मृत्यु, चार घाइते

अक्षरपाटी
२०७९ मंसीर १६ , शुक्रबार ०२:१२ मा प्रकाशित

जनकपुरधाम । धनुषामा घरखेतको विषयलाई लिएर दुई परिवारबीच विवाद हुँदा एकजनाको हत्या भएको छ । बाख्राले बाली खाएको विषयमा दुई पक्षीय विवादमा घरेलु हतियार प्रहार गरी एकजनाको हत्या भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

मिथिला विहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको घरेलु हतियार बन्चरो प्रयोग गरी हत्या गरिएको हो। बिहीबार राति साढे ८ बजेको समयमा स्थानीय सुरज यादवको परिवारको समूहले घरेलु हतियारसहित घरमै आएर आक्रमण गरेपछि घटनास्थलमै बुवाको मृत्यु भएको उनका छोरा अशोक यादवले बताए ।

घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो छोरा आशोक यादव घाइते भएका छन् । सन्तोष यादवको टाउकोमा १८ वटा टाका लागेको छ भने एउटा हातको दुईवटा औंला छिनाएको छ । अन्य सामान्य घाइते भएका छन् । उनीहरुको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले दुई समूहको विवादमा प्रभुको हत्या भएको हुनसक्ने आशंका गरेको छ । धनुषा प्रहरी उपरीक्षक बसन्त रजौरेले घटना हत्याजस्तै देखिएको र दुईजना घाइते भएको बताउँदै केही व्यक्तिलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।

मतृकका छोरा अशोकका अनुसार राति ८ बजे घरमा खाना खाएर आगो ताप्न बसेको बेला सुरज यादवसहित १० जनाको समूहले घरेलु हतियार बन्चरो, खुकुरीसहित आक्रमण गरेको हो। ‘बुवालाई एक्कसी बन्चरो हानेपछि उहाँ चिच्याउनु भो, हामी आँगनबाट दौडेर आउँदा हामीमाथि पनि आक्रमण भयो । बुवाको बन्चरो प्रहारले त्यही मृत्यु भयो । हामी घाइते भयौं । अरु कुराहरु थाहा भएन, अशोकले गहभरी आँसु चुहाउँदै भने ।

सुरज र प्रभुको खेत एक आलीमै पर्छ । घटना करिब दुई महिनाअघि सुरजको बाख्राले प्रभुको बाली खाएको विषयलाई लिएर विवाद हुँदा पञ्चायत भएको थियो । जसमा सुरजले माफी मागेका थिए। फेरि सोही विषयलाई लिएर एकाएक योजनावद्ध तरिकाले आक्रमण गरेको अशोकको भनाइ छ। मृतकको शव अहिले पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।