Logo
१६ चैत्र २०८०, शुक्रबार

धनगढीमा बालिका मृत्यु प्रकरणः आफन्तले शव बुझे

अक्षरपाटी
२०७९ मंसीर १६ , शुक्रबार ०५:१२ मा प्रकाशित

१६ मंसिर, धनगढी । धनगढीमा ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको शव परिवारले बुझेको छ ।

जिल्ला प्रहरी कार्यालयले बालिकालाई ठक्कर दिने कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरका चालक भरतपुर महानगरपालिका-२८ का २७ वर्षीय बिकल कुमालविरूद्व किटानी जाहेरी दर्ता गरेपछि पीडित परिवारले शव बुझेका हुन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले चालकविरूद्व किटान जाहेरी दर्ता भएर अदालतबाट ४ दिन म्याद थप गरिएपछि परिवारले शव बुझेको जानकारी दिए । सेती प्रादेशिक अस्पतालमा परीक्षणपछि मृतकको शव परिवारको जिम्मा लगाएको सूचना अधिकारी जोशीले बताए ।

बैतडीको डिलासैनी गाउँपालिका-६ की बालिका साउदलाई बिहीबार बिहान विद्यालय जाने बेला धनगढी उपमहानगरपालिका- ५ मा ग्रेडरले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

ठक्करबाट घाइते भएकी साउदलाई चालकले ग्रेडर ब्याक गरेर मारेको भन्दै विद्यार्थी र स्थानीयले विरोध प्रदर्शन गरेपछि प्रहरीले शव उठाउन सकेको थिएन । साँझ घटनास्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गर्दै शव उठाइएको थियो।

प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेकै अवस्थामा शुक्रबार बिहानैदेखि धनगढीमा विद्यार्थी र स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ३७ सेल अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनमा उत्रिएका २१ जना विद्यार्थीसहित केही स्थानीयलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरूलाई रिहाइ गर्न माग गर्दै धनगढीमा अहिले पनि प्रदर्शन जारी छ ।