Logo
७ वैशाख २०८१, शुक्रबार

अपांगता भएका व्यक्तिको अधिकार राज्यले सुनिश्चित गर्छ : प्रधानमन्त्री देउवा

अक्षरपाटी
२०७९ मंसीर १७ , शनिबार १०:१२ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अपांगता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट सेवा सुविधा प्रदान गरिने बताएका छन्।

प्रधानमन्त्रीले उनीहरुको हक अधिकार सहज र प्राथमिकतायुक्त पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको पनि बताए।

३१औँ अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा शुभकामना दिँदै उनले नेपालको संविधानले आर्थिकरूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपांगता भएका बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हक हुने र त्यो राज्यले सुनिश्चित गर्ने धारणा राखेका छन्।

प्रधानमन्त्री देउवाले सोहीअनुसार अपांगता भएका नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी आदिमा विशेष प्राथमिकता दिँदै उनीहरूको सामाजिक पुनःस्थापना, सामाजिक न्याय र संरक्षणको लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी गराए।

संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष डिसेम्बर ३ का दिनलाई अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइँदै आइएको छ।

यस क्रममा यस वर्ष ३१औँ अन्तर्राष्ट्रिय दिवस ‘समावेशी विकासका लागि रूपान्तरित समाधानः पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान सिर्जनशीलताको प्रावधान’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको छ।

दिवसका अवसरमा उनले स्वदेश तथा विश्वभरका अपांगता भएका दिदीबहिनी, दाजुभाइ, अभिभावक, यस क्षेत्रमा कार्यरत सरकारी, गैरसरकारी संघसंस्था, नागरिक समाजलगायत सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकावालाप्रति शुभकामना व्यक्त गरेका छन्।

शेरबहादुर देउवा