Logo
७ वैशाख २०८१, शुक्रबार

गगन थापालाई प्रधानमन्त्री बनाउन दबाबस्वरुप हस्ताक्षर संकलन

अक्षरपाटी
२०७९ मंसीर १९ , सोमबार ०६:१२ मा प्रकाशित

इनरुवा। नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं ४ बाट नवनिर्वाचित सांसद गगनकुमार थापालाई प्रधानमन्त्री बनाउन दबाब बढेको छ।

नयाँ पुस्तामा नेतृत्व आउनुपर्ने दबाबस्वरुप सुनसरीमा हस्ताक्षरसमेत संकलन गरिएको छ।

देश र जनताले राजनीतिमा पुस्तान्तरण चाहेकाले युवा नेतामध्ये सबैभन्दा क्षमतावान र उपयुक्त पात्र थापा नै भएकाले थापालाई प्रधानमन्त्री बनाउनु पर्ने हस्ताक्षरकर्ताहरुको भनाइ छ।

उनीहरुले कांग्रेसको संसदीय दलको निर्वाचनमा थापाको पक्षमा मतदान गर्न कांग्रेसका सांसदहरुलाई दबाब दिन हस्ताक्षर गरिएको बताए।

अभियानका संयोजक तथा नेपाल तरुण दल सुनसरीका सचिव रमेश कटुवालले झण्डै पाँच सय जनाले हस्ताक्षर गरेको जानकारी दिए।सुनसरीको इनरुवामा हस्ताक्षर संकलन गरिएको हो।

हस्ताक्षर गरिएको व्यानर काँग्रेसका सबै सांसदहरुलाई ध्यानाकर्षण गराउनेगरी कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार पठाइने पनि उनले बताए।

कुनै व्यक्ति विषेशको चाहना र अवस्थाभन्दा पनि देश र देशबासीको चाहना अनुसार काँग्रेसका सांसदहरुले निर्णय गरेर देशलाई नयाँ मोडमा लैजाने उनले विश्वास व्यक्त गरे।

यतिबेला कांग्रेसका केही पुराना र संस्थापनसँग निकट बाहेकका नेता तथा सांसदहरु नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको पक्षमा छन्।

सम्मपन्न निर्वाचनको परिणामले पनि अब नेपाली कांग्रेसमा पुस्तान्तरण आवश्यक रहेको सन्देश दिइसकेको हस्ताक्षर अभियानमा संलग्नहरुको भनाइ छ।

कांग्रेस संसदीय दलको निर्वाचनलाई सांसदहरुको विवेक परीक्षण गर्ने क्षणका रुपमा हेरिएको छ। वर्षौँदेखि सांसद र पार्टीको जिम्मेवार नेतृत्वमा रहे पनि देशको नेतृत्वका लागि दाबी गर्नै नसक्ने र युवापुस्ता जो देशको नेतृत्व हाँक्छु भनेर हाँक दिने कसले बाजी मार्ला भन्ने विषय चासोका रुपमा हेरिएको छ।

गगन थापा