Logo
१२ वैशाख २०८१, बुधबार

बाँकेमा माटोको उर्वरा शक्ति ह्रास

अक्षरपाटी
२०७९ मंसीर २१ , बुधबार १०:१२ मा प्रकाशित

बाँके। बाँके जिल्लामा माटोको उर्वरा शक्ति क्रमिकरूपमा ह्रास हुँदै गएको एक अध्ययनले देखाएको छ।

माटो तथा मल परीक्षण कार्यशाला खजुराले माटोको उर्वरा शक्ति खस्किँदै गएको प्रतिवेदन सार्वजनिक गरेको हो।

प्रयोगशालाका प्रमुख तथा बाली संरक्षण अधिकृत कमल शाहीका अनुसार नेपालमा पहिलोपटक ३२ वर्षअघि ५५ जिल्लामा माटो सर्भे भएको थियो।

पछि साविक ७५ वटै जिल्लामा माटो परीक्षण गर्दा उर्वरा शक्ति ह्रास, प्राङ्गारिक पदार्थ घटिरहेको र माटो अम्लीय वा क्षारीय बन्दै गएको छ।

उनले नेपालमा माटोको उर्वरा शक्तिको स्थिति हेर्दा हिमाल, पहाडभन्दा तराई–मधेसको माटोको उर्वरा शक्ति कमजोर देखिएको बताए।

माटो निर्देशनालयको प्रतिवेदनअनुसार सबैभन्दा बढी तराई र मधेसका आठ जिल्लामा धेरै माटोको उर्वरा शक्ति ह्रास भएको छ। तीमध्ये बाँके जिल्ला पनि एक हो।

प्रयोगशालाले बाँकेमा आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा कुल नौ सय ४९ वटा माटोको नमूना जाँच गरेको थियो।

तीमध्ये दुई सय २१ मा अम्लियपना, तीन सय ४७ मा तटस्थता र तीन सय ८१ मा क्षारीयपना देखिएको प्रयोगशालाले जनाएको छ।

तीनमध्ये बाँकेमा सबैभन्दा धेरै ४० प्रतिशत माटोमा क्षारीयपना छ भने २३ प्रतिशत माटोमा अम्लियपना र ३७ प्रतिशत माटो तटस्थ अवस्थामा छ।

बाँकेको माटोको प्राङ्गारिक पदार्थ जाँच र विश्लेषण गर्दा ९५ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ नरहेको पाइएको छ।

माटोको उर्वरा शक्ति बढाउन कृषकलाई गोठेमल उत्पादनमा जोड, चुना तथा जिप्समको प्रयोग र भकारो सुधार कार्यक्रमको निरन्तरता तथा नियमित माटो जाँच गर्नेलगायतका प्रयास भइरहेको बाली संरक्षण अधिकृत शाहीले बताए।

बाँके माटो