Logo
१२ वैशाख २०८१, बुधबार

अस्पताल भवन निर्माण अधुरै

अक्षरपाटी
२०७९ मंसीर २२ , बिहीबार ०४:१२ मा प्रकाशित

सर्खेत । ५० शय्या विस्तारसँगै संरचना अभाव भएपछि ६ वर्षअघि मेहलकुना अस्पतालको नयाँ भवन निर्माण सुरु गरिएको थियो।

तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको हो।

५० शय्या क्षमतामा स्तरोन्नतिसहित निर्माणाधीन मेहलकुना अस्पतालको भवन निर्माणका लागि निर्माण कम्पनीले ठेक्का लिँदा ०७३÷७४ मा २८ करोड लागत अनुमान गरिए पनि २१ करोड १६ लाखमा ठेक्का सम्झौता गरिएको थियो।

हालसम्म भवनको ६० प्रतिशत मात्रै काम भएको अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी कमल सुवेदीका अनुसार तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएको अस्पतालको भवन निर्माणकार्य भने अधुरै अवस्थामा छ।

आव ०७६÷७७ मा भवन निर्माण सक्ने लक्ष्य लिइएको भए पनि अझै काम सकिएको छैन।

गुर्भाकोट नगरपालिकास्थित मेहलकुनामा निर्माणाधीन अस्पताल भवनमा पाँच ब्लक छन्।

समयमै निर्माणकार्य नसकिएर योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ। तर निर्माण कम्पनीलाई भने कुनै कारबाही गरिएको छैन।

समयमै निर्माण नसकिँदा सेवा प्रवाहमै समस्या भइरहेको अस्पताल व्यवस्थापन समितिका सदस्य बृखबहादुर नेपालीले बताए।

उनले पटक–पटक ताकेता र समन्वय गर्दासमेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन निर्माणकार्य अलपत्र परेको बताए।

सदस्य नेपालीले भने, “ठेकेदारले पर्याप्त मात्रामा मजदूर परिचालन गर्न र निर्माण सामग्री जुटाउन नसक्दा भवन निर्माणमा ढिलाइ भएको छ, करोडौंको योजनामा झारा टार्ने शैलीमा काम गरेका छन्।”

५० शय्या क्षमता भए पनि २२ शय्याको अस्थायी संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य भएको सदस्य नेपालीले बताए।

सरकारले मेहलकुना अस्पताललाई १५ जेठ ०७३ मा १५ शय्याबाट ५० शय्यामा विस्तार गरेको थियो।

लामो समयदेखि निर्माण हुन नसकेको अस्पताल भवनको यसै आर्थिक वर्षमा निर्माणकार्य सम्पन्न नभएमा ठेक्का सम्झौता तोड्नका लागि प्रक्रिया अगाडि बढ्ने सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइका प्रमुख अमरबहादुर थापाले बताए।

तोकेको काम पूरा नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने र धरौटी जफत गरी क्षतिपूर्ति समेत भराउने गरी कारबाही प्रक्रिया अघि बढ्ने प्रमुख थापाले बताए।