Logo
२० माघ २०७९, शुक्रबार

सहरको ज्यामी

अक्षरपाटी
२०७९ मंसीर २४ , शनिबार ०७:१२ मा प्रकाशित

० शिवराज योगी

तिमी, अहिले पनि अनकन्टार गाउँमा
च्यापेर काखे चिचिलो
चिहाइरहेकी होउली मेरै बाटो
बिच्छ्याइरहेकी होउली आँखा
म आउने आसमा ।

तर,
म यता भरिभराउ सहरमा
एक्लो, बस एक्लो, शून्यसरी
बिच्छ्याएर यादका बिस्कुनहरु
सुकाइरहेको छु
मंसिरको ठिहीर्याउने रातमा
आउने यादहरुलाई
सकिँदैन रैछ प्रिय
हत्केलाले छेक्न
परेली बन्द गरेर रोक्न

र पनि त प्रिय
तिम्रो र मेरो कथा उस्तै हो
तिमी दूरदराजमा
दाउराको भारीले च्यापिएर
चियाउँछौँ यादहरु
म व्यस्त सहरमा
एक्लिएर पल्टाउँछु सम्झनाहरु

एक रोटी पकाउने सास्तीले
तिमीलाई नछोडेझैँ
एक मानो पठाउने जीविविषाले
छोडेन मलाई कहिल्यै
युवावयका तीं सब उर्जाउत्साहरु
उमेर छँदाका तीं सब स्वर्णिम सपनाहरु
खै अब त पसिनासँगै
सुके झैँ लाग्छ सहरकै गल्लीमा
परिश्रमसँगै टासिँएझैँ लाग्छ
गगनचुम्बी महलहरुमा

कैयौँ हिउँद बिताएँ
गल्लीको तुसारोमा
तिम्रो स्नेहको न्यानो त्यागेर
कैयौँ गर्मी कटाएँ
लामखुट्टेको संगीतसँगै
तिम्रो प्रेमको शितलता बिर्सेर

तर खै दिनरात नभनी
ठड्याएका यीं महलहरु
भोक निन्द्रा नभनी
सम्याएका यीं सडकहरु
आज तिनकै किनारको बास पनि ह्यले भरिएको छ
ज्यामी, मजदुर र कुल्लीको परिचय दिएर
उठिबास लगाइन्छ
र लखेटिँदै बाँच्नुपर्छ
त्यसरी नै
जसरी भाग्यले लखेटेर बाँचेको छु,
हो ठिक त्यसरी नै !!

कविता