Logo
८ वैशाख २०८१, शनिबार

दुर्लभ पन्छी हुचिल लोप हुँदै

अक्षरपाटी
२०७९ मंसीर २८ , बुधबार ११:१२ मा प्रकाशित

उदयपुर। उदयपुरको पूर्वी क्षेत्रको बेलका तथा चौदण्डी गढीको पहाडी क्षेत्रको भीरपाखामा पाइने दुर्लभ पन्छी हुचिल लोप हुँदै गएको छ। वासस्थान मासिँदै गएको र सिकार गर्ने गरेका कारण हुचिल हिजो आज यस क्षेत्रबाट लोप हुँदै गएको हो।

बेलका नगरपालिकाको मैनामैनीको सुघाचरी भिर पाखा, बोपताङ डाँडाको भिरपाखा, चम्पाकोट पाखा तथा चौदण्डी गढीको सिद्धीपुर र बेलकाको कटुन्जेबबलाको पाखा पहरातिर केही वर्ष अघिसमम जताततै पाइने हुचिल हिजोआज यस क्षेत्रमा पाइन छोडेको चौदण्डी बबलाका रामबहादुर मगर बताउँछने।

“केही वर्षअघिसम्म चौदण्डीको कटुन्जे बबलाको भिरपाखा तथा जंगल क्षेत्रमा हिउँद वर्षा दुवै याममा हुचिल जताजतै पाइन्थ्यो”, उनले भने।

केही वर्षयता यसको सिकार हुन थालेको र केहीले यसको वासस्थानसमेत नष्ट गरेको पाइएको मगर बताउँछन्। हुचिलको सिकार गर्न गोप्यरुपमा अन्यत्र जिल्लाबाट सिकारी आउने गरेको उनको भनाइ छ। स्थानीयसँग मिलेर हुचिल सिकार गर्ने गरेको पाइएको मगर बताउँछन्।

बेलका नगरपालिका ५ को मैनामैनी क्षेत्रको बोपताङ डाँडा पाखा क्षेत्र, चम्पाकोट तथा सुघाचरी भीरपाखामा समेत विगतमा धेरै सङ्ख्यामा हुचिल पाइन्थ्यो।

स्थानीय मानबहादुर राई केही समययता फाटफुट्ट मात्र देख्न सकिने बताउँछन्। “हिजोआज गाउँघरमा रातभरि नै हुचिल कराएको सुनिदैन”, उनले भने।

हुचिल मार्न, पक्रन र पासो थाप्न यहाँ बाहिरबाट आउने गरेका स्थानीयवासी बताउँछन्। हुचिल जिउँदै अन्यत्र लगेर बिक्री गर्ने गरेको पाइएको छ। जिउँदो हुचिल २० हजारसम्ममा बिक्री हुने गरेको छ।

बेलका नगरपालिकाका पूर्व नगरप्रमुख दुर्गाकुमार थापा आफूले बेलकाको मैनामैनीको सुगाचरी भिर बोपताङ डाँडा र भिरमा पाइने दुर्लभ प्रजातिका गिद्धको संरक्षण र हुचिल संरक्षणको अभियान नै चलाएको बताए। “संरक्षण अभियानलाई निरन्तरता दिनुपर्छ”, उनले भने।

हुचिल