Logo
८ वैशाख २०८१, शनिबार

पत्रकारितालाई संकुचित बनाउने कोसिस भइरहेको छ : पूर्वराष्ट्रपति यादव

अक्षरपाटी
२०७९ पुस २ , शनिबार ०८:१२ मा प्रकाशित

काठमाडौं। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेको बताएका छन्।

आज नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिको दोस्रो वार्षिक साधरणसभामा उनले पत्रकारिता क्षेत्रको चुनौतीको चर्चा गर्दै त्यसतर्फ सजग रहन पत्रकारहरूलाई सुझाव दिए।

‘जहाँ लोकतन्त्र छ, त्यहाँ स्वतन्त्र पत्रकारिता हुन्छ अभिव्यक्तिको स्वतन्त्रता हुन्छ । तर स्वतन्त्रता विस्तारै सङ्कुचनमा गइरहेको छ’, उनले भने, ‘यहाँ मात्र होइन संसारमै यो चुनौती देखिन थालेको छ।’

उनले विश्वमा भइरहेको लोकतन्त्रको लडाइँमा साथ दिनका लागि नेपाली पत्रकारको ध्यानाकर्षणसमेत गरे। पूर्व राष्ट्रपति यादवले विश्व परिवेषलाई ध्यान दिनुपर्नेमा जोड दिँदै भने, ‘ताइवानमा तीन लाख नेपाली छन्। त्यहाँको आन्दोलनमा के भइरहेको छ? यता बर्मामा भइरहेको आन्दोलनमा पनि नेपाली पत्रकार र पत्रकारका संघ–संगठनले केही बोल्ने हो कि ?’

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यस वार्षिक साधारणसभामार्फत श्रम र सम्पादकीय स्वतन्त्रका विषयमा गहन छलफल हुनुपर्ने बताए।

‘पत्रकारिताभित्र श्रमको उचित मूल्यांकन हुनसकेको छैन। सम्पादकीय स्वतन्त्रताको अवस्था के छ भन्ने कुरामा समीक्षा गर्नुपर्ने भएको छ’, उनले भने।

महासंघका प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले कोरोना महामारीका बीच पनि प्रतिष्ठानले गरेको कामको समीक्षा र आगामी रणनीति निर्माणका लागि छलफल हुने बताए।

डा. रामवरण यादव