Logo
१६ चैत्र २०८०, शुक्रबार

पैसाका लागि क्रुरताको हद, ४० हजारका लागि ९० वर्षीया वृद्धाको हत्या

अक्षरपाटी
२०७९ पुस २ , शनिबार ०८:१२ मा प्रकाशित

काठमाडौं। मानिसले पैसाको लोभमा जस्तो पनि हर्कत गर्नसक्छ भन्ने प्रमाण हो काठमाडौँको तारकेश्वर नगरपालिकाका ९० वर्षका वृद्धाको हत्या। गएको मङ्सिर २० गते नगरपालिकाको वडा नं ६ पुलबाट डिल्ली पुतुवार हराएको भन्ने सूचना नेपाल प्रहरीमा आइपुग्यो।

उक्त सूचनाका आधारमा तत्कालै प्रहरी टोली परिचालन गरेर खोजतलास गर्दा नगरपालिकाको वडा नं ३ पारीवनपाखा सामुदायिक वनको खोल्सामा वृद्धाको शव फेला प¥यो । टाउको र मुखमा चोटैचोट भएको अवस्थामा शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यसपछि कर्तव्य गरेर घटना भएको निष्कर्षमा प्रहरीले अनुसन्धान थालेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला बताउँछन्।

कोइरालाका अनुसार गम्भीर प्रकृतिको घटना भएकाले सुक्ष्म अध्ययन गरी अनुसन्धानका क्रममा सोही नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र शिवभक्तिले हत्या गरेको खुल्न आएपछि उनलाई पक्राउ गरी अनुन्धान थालिएको छ। जीवनको उत्तराद्र्धतमा पुगेको व्यक्तिको हत्या गर्नु गम्भीरभन्दा पनि गम्भिर अपराध हो ।

उनीसँगको सोधपुछका क्रममा चिसापानी चप्पल कारखानामा राहत दिइराखेको छ भनेर लोभमा पारेर जंगलमा लगी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ। त्यही लोभ देखाएपछि वृद्धाले त्यहाँसम्म पु¥याउन आग्रह गरेको र उनले डो¥याउँदै लगेको प्रहरीले जनाएको छ।

उक्त सामुदायिक वनको खोंचमा पुगेपछि आरोपी नरेन्द्रले एकछिन बसेर चुरोट खाउँ भनेपछि सँगै बसेको र सोही क्रममा वृद्धाको कम्मरमा भएको पैसा लिनका लागि ढुंगाले टाउको र गद्र्धनमा हानेर मारेको खुलेको प्रहरीले जनाएको छ।

त्यसपछि वृद्धा महिलासँग भएको ४०–४५ हजार लिएर उनको शवलाई खोल्सामा लुकाएर फरार भएका उनलाई कार्यालयको टोलीले पक्राउ गरेको उपरीक्षक कोइरालाले जानकारी दिए। अभियुक्तलाई थप कानुनी कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा पठाइएको पनि उनले बताए।

अपराध