Logo
१३ वैशाख २०८१, बिहीबार

मलाई मन्त्री बन्ने रहर छैन : विश्वप्रकाश शर्मा

अक्षरपाटी
२०७९ पुस २ , शनिबार ०९:१२ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले नै आफूलाई मन्त्री बन्ने चाहना नभएको बताएका छन्।

नेपाली कांग्रेस झापा क्षेत्र नं १ काठमाडौं सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘सम्मान समारोह’मा बोल्दै उनले सबैले निर्वाचन जितेपछि मन्त्री बन्ने आकांक्ष राख्ने गरे पनि आफूमा मन्त्री बन्ने कुनै आकांक्षा नरहेको बताए।

उनले मन्त्री बन्नेभन्दा पनि दूरदराजमा रहेका आम नागरिकको भावनाअनुसार काम गर्ने विषय आफ्नो प्राथमिकतामा भएको उल्लेख गरे।

उनले कुनै बेला एक्लै दुईतिहाइ बहुमत ल्याएको कांग्रेस अहिले मिलेर चुनाव लड्दासमेत ५७ सिटमा सीमित भएको भन्दै चुनाव जित्नेबित्तिकै मन्त्री बनिहाल्नुपर्छ भन्ने बेला नभएको बताए।

महामन्त्री शर्माले अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषयभन्दा महत्वपूर्ण राष्ट्रपति को बन्ने भन्ने रहेको बताए। उनले कांग्रेसले गठबन्धनका दलहरू र प्रतिपक्षले पनि सहजतापूर्वक लिनसक्ने राष्ट्रपति अहिलेको आवश्यकता भएको उल्लेख गरे।