Logo
१२ वैशाख २०८१, बुधबार

‘मानवता प्रवर्द्धनका लागि नेपथ्य ब्याण्डको सांगीतिक कार्यक्रम

अक्षरपाटी
२०७९ पुस ६ , बुधबार ०७:१२ मा प्रकाशित

सुर्खेत । मानवता प्रवर्द्धनका लागि थालिएको सांगीतिक कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा कन्सर्ट हुने भएको छ।

नेपथ्य ब्याण्ड र मानवसेवा आश्रमको सहकार्यमा देशका १० सहरमा कन्सर्ट सञ्चालन गर्ने तालिकाअनुसार बुधबार सुर्खेतमा सांगीतिक कार्यक्रम सञ्चालन गर्न थालिएको हो।

नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले चाहनाका यावत् पहाड कालान्तरमा निरर्थक हुने भएकाले यही जुनीमा पुण्य कमाउन सबैलाई आग्रह गरे।

“समाज भनेकै हामी भएकाले यसैको सेवाका लागि आफूलाई तयार पारौँ”, उनले भने, “मानवता अक्षयकोष निर्माण गरेर सुन्दर भवन निर्माणका लागि सहयोग गरौँ।”

सहयोगापेक्षी सडक मानवको सहयोगका निम्ति सांगीतिक कार्यक्रम गरिएको गायक गुरुङले बताए।

कर्णाली प्रदेशका प्रमुख सचिव डा गोपीकृष्ण खनालले मानवता बचाउन मानव सेवा आश्रमले गरेको योगदान अतुलनीय रहेको बताए।

आश्रमको कर्णाली प्रदेश कार्यालय निर्माणका लागि सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता प्रमुख सचिव डा खनालले गरे।

वीरेन्द्रनगर नगरपालिकाका कार्यपालिका सदस्य यमुना नेपालीले जीवित आत्माको सेवा गर्न हरेक व्यक्तिमा मानवता पलाउन सकेमात्र मानवता प्रवर्द्धनमा सहयोग पुग्ने बताइन्।

समाजसेवी हरि विष्टले जन्मदिनमा केक काटेर फजुल खर्च नगरी दुःखमा परेका मानवको जीवनमा सहयोग पु¥याउन आग्रह गरे।

मानव सेवा आश्रम कर्णाली प्रदेशका संयोजक सिर्जना ओलीले मानवताको माला गाँस्ने प्रयासमा लाग्न अनुरोध गरिन्।

मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले कर्णाली प्रदेश सरकारले सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिसकेकाले मानवोचित व्यवस्थापन आवश्यक रहेको बताए। सुषुप्त मानवतालाई झकझक्याउन मेची–महाकाली अभियान गरिएको हो।

नेपथ्य ब्याण्ड