Logo
१५ चैत्र २०८०, बिहीबार

सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकियो, माओवादीले एमालेसँग छलफल गर्दै

अक्षरपाटी
२०७९ पुस १० , आईतबार ०१:१२ मा प्रकाशित

काठमाण्डौ । नयाँ सरकार गठनका विषयमा निर्णय गर्न बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद नछाड्ने अडान लिएपछि बैठक निष्कर्षमा पुग्न नसकेको माओवादी नेताहरूले बताएका छन् ।

माओवादीले राष्ट्रपति कांग्रेसले राखे पनि सुरुको दुई वर्ष आफूहरूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेको थियो । तर कांग्रेसले सुरुको दुई वर्ष प्रधानमन्त्री नछाड्ने अडान लिएपछि बैठक निष्कर्षमा पुग्न सकेन ।

माओवादीले यसअघि कांग्रेसलाई पटक–पटक सहयोग गरेकाले यस पटक सघाउन आग्रह गरेको थियो तर कांग्रेसले माओवादीको प्रस्ताव मानेको छैन । गठबन्धनको बैठकमा सहमति नजुटेपछि माओवादीले एमालेसँग छलफल थालेको छ । माओवादीका दोस्रो तहका नेता र एमालेका नेताहरूबीच छलफल भइरहेको छ ।

यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट जाने तयारीमा हुनुहुन्छ ।