Logo
१२ पुस २०८१, शुक्रबार

कांग्रेस महामन्त्री शर्माको टिप्पणी : हामी एम्बाप्पे भयौं, कप अर्कैले लग्यो

अक्षरपाटी
२०७९ पुस ११ , सोमबार १२:१२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरु अहिलेको राजनीतिको खेलमा फुटबलर एम्बाप्पेजस्तो मात्र भएको टिप्पणी गरेका छन् । पोखरामा चलिरहेको लिटरेचर फेस्टिबलमा शर्माले सो टिप्पणी गरेका हुन् ।

‘राजनीतिमा सामाजको ऐना’ बहसमा मोडरेटर बसन्त बस्नेतले जितेर आएको कि हारेर भनेर प्रश्न सोधेका थिए । महामन्त्री शर्माले भने, ‘जितेर हारेर आएको । अस्ति वर्ल्डकप भएको थियो नि । सबभन्दा बढी गोल चाहिँ एम्बाप्पेले हान्यो । गएको मंसिर ४ को चुनावमा सबभन्दा बढी सिट कांग्रेसले जित्यो । भयो के भने एम्बाप्पेले सबभन्दा बढी गोल पनि हान्यो, गोल्डेन बल पनि जित्यो । तर कप चाहिँ अर्कैले लग्यो ।’

उनले अघि भने, ‘त्यसकारण हामी चाहिँ एम्बाप्पे भएर आएका हौं ।’

५ वर्षपछि एम्बाप्लेले के गर्छ भन्ने प्रश्नमा उनले भने, ‘५ वर्षपछि हामी डिफेण्डिङ च्याम्पियन भन्छन् नि अहिलेको च्याम्पियनलाई हराएर हामी च्याम्पियन बन्छौं ।’

अर्का महामन्त्री गगनकुमार थापाले थपे, ‘एम्बाप्लेले जित्छ, किनकी अब मेसी हुन्न नि ।’

देशभरबाट के भयो भनेर प्रश्न आउँदा आफूहरुले नहुनुपर्ने भयो, तर चिन्ता नगर्नुस् भन्ने गरेको महामन्त्री शर्माले सुनाए । यो टर्निङ प्वाइन्ट हुने भन्दै उनले गहिरो विश्लेषणका साथ अबको यात्रा तय गर्ने बताएका छन् ।