Logo
१४ वैशाख २०८१, शुक्रबार

नक्कली नोट र बाघको हड्डीसहित कैलालीमा ५ जना पक्राउ

अक्षरपाटी
२०७९ पुस १२ , मंगलबार ०९:१२ मा प्रकाशित

धनगढी । कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडिबुडीसहित पाँच जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका-४ बसपार्क र १३ को राजपुरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्परेसन अगाडी नक्कली मुद्राको कारोबार भइरहेको सूचनाका आधारमा एक हजारका चार नोटसहित चुरे गाउँपालिका-६ का ५५ वर्षीय लालबहादुर साउँदलाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

उनकाअनुसार अनुसन्धानका क्रममा एक हजार दरका थप १३८ नोटसहित अन्य चार जनालाई पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा राजपुरस्थित एस एस होटलमा डेरा गरी बसेका दार्चुलाको लेकम गाउँपालिका-६ का ३३ वर्षीय लिलाधार मिश्र, डोटीको शिखर नगरपालिका-१० का ३० वर्षीय करनसिंह धामी, १९ वर्षीय टेकेन्द्र धामी र बडिकेदार गाउँपालिका-१ बस्ने ५० वर्षीय मोहन सिंह बोहरा रहेका छन् ।

राजपुरमै डेरा गरेर बस्ने धामीको कोठा खानतलासी पलङ खटियाको सिरानीमुनि लुकाएर राखेको अवस्थामा १३८ थान नक्कली नोट, जेब्रा झोलामा बाघको जस्तो करीब साढे ५ किलो देखिने अस्थीपंजर हड्डी र प्लाष्टिकभित्र लुकाएको अवस्थामा प्रतिबन्धित जडिबुडी पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।