Logo
१३ वैशाख २०८१, बिहीबार

कर्णाली संसदीय दलको नेता : एमालेमा यामलाल कंडेल र मा‌ओवादीमा राजकुमार शर्मा

अक्षरपाटी
२०७९ पुस १३ , बुधबार ०३:१२ मा प्रकाशित

कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता छानेका छन् । दुवै दलले बुधबार संसदीय दलको नेता चयन गरेका हुन् । नेकपा एमालेले संसदीय दलको नेतामा यामलाल कंडेललाई चयन गरेको छ । बुधबार बसेको नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलको पहिलो बैठकले कंडेललाई संसदीय दलको नेतमा सर्वसम्मत चयन गरेको हो ।

 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। २ प्रदेश सभा निर्वाचन क्षेत्र नं। १ सुर्खेतबाट प्रदेश सभा सदस्यमा निर्वाचित कंडेल सर्वसम्मत रुपमा दलको नेतामा चयन भएका हुन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। २, प्रदेश सभा २ दैलेखबाट निर्वाचित प्रदेश सभा सदस्य विनोदकुमार शाहले एमाले संसदीय दलको नेतामा दाबी गरेपनि अन्ततः कंडेल संसदीय दल नेता चयन भएका हुन् । कंडेल एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज हुन् ।

कंडेल कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने उद्देश्यसहित दोस्रो पटक पनि प्रदेशमै चुनाव लडेका थिए । २०७४ मा २० सिटसहित पहिलो दल हुँदा पनि एमालेले कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्न सकेको थिएन् । ४० सिट रहेको प्रदेश सभामा एमालेलाई सरकार बनाउन एक सिट अभाव थियो । यो पटक एमाले १० सिटसहित तेस्रो दलको हैसियतमा छ ।

यस्तै कर्णाली प्रदेश सभा नेकपा माओवादी केन्द्रको संसदीय दल नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको प्रदेश कमिटी बैठकले शर्मालाई सर्वसम्मत रुपमा दल नेतामा चयन गरेको हो । दल नेताका लागि चार जनाको दाबी रहेपनि अन्ततः शर्मा सर्वसम्मत रुपमा दल नेतामा चयन भएका हुन् । दाबी गर्नेमा कालिकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसी रहेका थिए ।

संसदीय दल नेतामा चयन भएका शर्मा रुकुम पश्चिम प्रदेश सभा २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । शर्मा २०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएर काम गरिसकेका छन् भने पार्टीको जिल्ला इञ्चार्ज हुँदै प्रदेश अध्यक्षको भूमिका निर्वाह गरिसकेका नेता हुन् । उनि हाल नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य समेत हुन् ।

यसअघि नेपाली कांग्रेसले संसदीय दल नेता चयन गरिसकेको छ । नेपाली कांग्रेसले संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत गरेको थियो । मुख्यमन्त्रीसमेत रहेका शाही पुनः संसदीय दलको नेतामा चयन भएका हुन् । दल नेतामा दाबी गरिरहेका राविजबिक्रम शाह पछि हटेपछि शाही सर्वसम्मत भएका थिए ।

संसदीय दलको नेतामा सर्वसम्मत भएका शाही नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको सदस्य हुन् । शाही हुम्लाको प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट सात हजार ५६ मतसहित निर्वाचित भएका हुन् ।