Logo
१३ वैशाख २०८१, बिहीबार

विमानस्थलका परिकल्पनाकार पाठकलाई नागरिक अभिनन्दन

अक्षरपाटी
२०७९ पुस १७ , आईतबार १०:०१ मा प्रकाशित

पोखरा। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गर्ने तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शंकरराज पाठकलाई आज पोखरामा रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ।

पोखरा महानगरपालिकाले ९१ वर्षीय पाठकलाई अमरसिंह चोकदेखि विमानस्थलसम्म रथारोहणसहित अभिनन्दन गरेको हो।

विमानस्थल उद्घाटनअघि हजारौँ पोखरेलीको सहभागितामा रथारोहण गरिएको हो। पोखरामा विसं २०२९ देखि २०३४ सम्म अञ्चलाधीश रहेका पाठकले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्छ भनेर पोखरा–१४ को छिनेडाँडामा त्यसबेला तीन हजार रोपनी जमिन अधिग्रहण गरेका थिए। साथै आधुनिक पोखराको खाका तयार गरेको श्रेय पनि उनलाई जान्छ।

जग्गा अधिग्रहणको ४७ वर्षपछि बल्ल पोखरामा अन्तर्राष्ट्रिय विमान निर्माण सम्पन्न भएको हो। सो खुशीयालीमा महानगरले पाठकलाई सम्मान गरेको महानगर प्रमुख धनराज आचार्यले बताए।

उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पाँच दशकअघि परिकल्पना गर्नुहुने तत्कालीन अञ्चलाधीश पाठकलाई उहाँको योगदानको कदरस्वरूप अभिनन्दन गरेका हौँ। अर्का परिकल्पनाकार इञ्जिनीयर पदमबहादुर खत्री देशबाहिर रहेकाले उपस्थित गराउन सकेनौँ।’

विमानस्थलका परिकल्पनाकार पाठकलाई उद्घाटन समारोहमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले कदरपत्रबाट सम्मान गरेका थिए।

विमानस्थलको उद्घाटन समारोहमा हजारौँ पोखरेलीले सहभागिता जनाएका थिए। विमानस्थल उद्घाटनसँगै आन्तरिक उडान सोही विमानस्थलबाट सञ्चालन भएका छन्।