Logo
६ वैशाख २०८१, बिहीबार

भजनीमा स्वस्थ्य केन्द्र : भवन छ, सेवा छैन

अक्षरपाटी
२०७९ पुस १९ , मंगलबार ११:०१ मा प्रकाशित

कैलाली १९ पुस। कैलालीको भजनी नगरपालिका–३ को सहरी स्वस्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको एक वर्ष भयो। तर यो भवनमा स्वास्थ्य सेवा भने पाइँदैन।

हुलाकी राजमार्गअन्तर्गत ठेकीपुरस्थित निर्माण सम्पन्न भएको भवन डुबानको समस्या समाधान र विद्युत् लाइनको विस्तार हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो।

नगरपालिकाको अदुरदर्शिताका कारण निर्माण भएको भवन वर्षायाममा डुबानमा पर्छ। हुलाकी सडकको उचाइभन्दा कम उचाइमा निर्माण भएको भवन बाढी र डुबानको जोखिममा रहँदै आएको छ।

प्राविधिकको कमजोरीका कारण भवन निर्माण गर्दा ध्यान नपु¥याएका कारण समस्या आएको स्थानीय रामबहादुर चौधरी बताउँछन्।

‘भवन निर्माण त भयो, तर जहाँ बस्ती नै छैन त्यो ठाउँमा। त्यो पनि वर्षायाममा डुबान हुने ठाउँमा’, उनले भने, ‘बाढी आयो भने हुलाकी सडक डुब्छ भन्ने थाहा हुँदाहुँदै गहिरोमा भवन निर्माण नहुनुपर्ने हो, त्यो भयो। अब नगरपालिकाले सञ्चालनमा ल्याउन सक्नुपथ्र्यो, ल्याएको छैन।’

भवनको अवस्था हेर्दा जनताको सेवाभन्दा बजेट सक्नैका लागि भवन बताएको अनुमान स्थानीयको छ। सहरी स्वस्थ्य केन्द्रको भवन निर्माण हुँदा पनि स्थानीयवासीले विरोध गरेका थिए।

त्यो ठाउँमा भवन उपयुक्त छैन भन्दै विवादका बीच भवन निर्माण भएको थियो। विवादका बाबजुद पनि नगरपालिकाले भवनको स्वामित्व लिइसकेको छ।

नगरपालिका भने भवनको लागत अनुमान नै त्यस्तै भएको दाबी गर्छ। नगरपालिकाका इञ्जीनियर अनिश श्रेष्ठले स्वस्थ्य केन्द्रको भवन निर्माण भएको क्षेत्रमा नभई वडा नं ३ को कार्यालय नजिकै कान्द्रा नदी किनारमा निर्माण हुने गरी ‘डिजाइन’ भएको बताउँछन्।

‘पहिले कान्द्रा नदीको किनारमा रहेको खाली ठाउँमा सहरी स्वस्थ्य केन्द्रको भवन निर्माण गर्ने कुरा थियो। पछि नदीका कारण भवन जोखिममा पर्नसक्ने जनाउँदै त्यहाँ भवन निर्माण नगर्ने कुरा भयो’, उनले भने, ‘अन्तिममा एक जनाले जग्गा दान गर्छु भनेर जग्गा दान दिएपछि पुरानो ठाउँबाट उक्त भवनलाई नयाँ ठाउँमा सारिएको हो।’

उनका अनुसार डिजाइन लागत अनुमानभन्दा भवनको उचाइ निकै बढाइएको छ। भवनको उचाइ दुई फिटभन्दा बढी उठाएर निर्माण गरिएको इञ्जीनियर श्रेष्ठको दाबी छ।

उनले एक ठाउँमा भएको लागत अनुमानलाई अर्को स्थानमा स्थानान्तरण गर्दा केही भाग गहिरोमा परेको तर्क गरे। ४३ लाख ९१ हजार सात सय ६० बजेटमा ४१ लाख २१ लाख आठ सय ८५ निर्माण कम्पनीलाई नगरपालिकाले भुक्तानी गरेको छ। यसमा मिलेमतो भएको स्थानीयको आरोप छ।

यस्तो ठाउँमा भवन स्वीकृत हुनु, पास हुनु र नगरपालिकाले स्वामित्व लिनुमा मिलेमतो भएको अनुमान स्थानीयको छ।

निर्माण भएको उक्त भवनको काम २०७८ पुस २८ गते सम्पन्न भइसकेको थियो। रिया कन्स्ट्रक्सनले निर्माण गरेको सहरी स्वस्थ्य केन्द्रको भवन निर्माणका लागि संघीय स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बजेट व्यवस्था गरेको इञ्जीनियर श्रेष्ठले बताए।