Logo
१३ वैशाख २०८१, बिहीबार

बालेन्द्र शाहद्वारा आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

अक्षरपाटी
२०७९ पुस १९ , मंगलबार ०३:०१ मा प्रकाशित

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधिलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

प्रमुख शाह आफै सर्वोच्च अदालतमा उपस्थित भएर सो रिट निवेदन दायर गरेका हुन्। स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गर्दै आयोगले प्रमख शाहसहित अन्य उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध शाहले आज रिट निवेदन दायर गरेका हुन्।

रिट निवेदनमा कानुनले तोकेको अवधिभित्रै गत असार १२ गते निर्वाचन आयोगमा खर्च विवरण पेश गरेको र परिणाम घोषणा भएको मितिले ३० दिनभित्र खर्चको विवरण पेश गर्नुपर्नेमा ३०औँ दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट पेश गरेको उल्लेख छ।

शाहले आफूले समयमै निर्वाचन खर्च विवरण बुझाउँदा पनि सात लाख ५० हजार जरिवाना तिर्न लगाउने, स्थानीय निर्वाचनमा भाग लिने देशभरका एक लाख २३ हजार उम्मेदवारलाई एकमुष्ट जरिवाना गर्ने, ६ महिनाभित्र नबुझाए ६ वर्षसम्म कुनै निर्वाचनमा भाग लिन नपाउने र निर्वाचित भए पदमुक्त हुने भनी आयोगको गरेको निर्णय बदर गर्न रिट निवेदनमा माग गरेका हुन्।