Logo
१४ वैशाख २०८१, शुक्रबार

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेता छान्नै सकस

अक्षरपाटी
२०७९ पुस १९ , मंगलबार १०:०१ मा प्रकाशित

कैलाली। आधा दर्जनभन्दा बढी आकांक्षी भएपछि सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेता छनोट गर्न सकस देखिएको छ।

संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्य बहादुरसिंह थापा, कमलबहादुर शाह, दिवानसिंह विष्ट, शिवराज भट्ट, प्रकाशबहादुर देउवा, मानबहादुर रावल र मेघराज खड्का आकांक्षी छन्।

कांग्रेस प्रदेश कार्यसमितिका पदाधिकारी र प्रदेशसभाका सदस्यको उपस्थितिमा आज धनगढीमा बसेको अनौपचारिक बैठकमा संसदीय दलको नेता छनोटका लागि छलफल भएको थियो।

कांग्रेस प्रदेश कार्यसमितिका महामन्त्री नरनारायण शाह ‘मनु’ले बैठकमा संसदीय दलको नेताका आकांक्षीलाई आपसमा सहमति गरेर दलको नेताको नाम टुङ्ग्याउन आग्रह गरिएको जानकारी दिए।

उनले भने, “आकांक्षीलाई आजै सहमति गर्नुस् भनेका छौँ, सहमति भएन भने भोलि निर्वाचन प्रक्रियामा जान्छौँ भनेका छौँ।”

पार्टी केन्द्रबाट संसदीय दलको नेतामा आफूअनुकूल हुने गरि अघि बढाइएका कारण छनोटमा समस्या भएको कांग्रेसका एक नेताले भने।

‘वरिष्ठ र कनिष्ठ भन्ने हुन्छ। पार्टीमा लगानी, योगदान र संगठनको कुरा पनि हुन्छ’, तीं नेताले भने, ‘केन्द्रीय सत्तासमिकरणमा त्यति ठूलो उपलब्धि गुम्दा पनि अझै चेत फिरेको छैन। आआफ्नै अनुकूलताका लागि सिंगो पार्टीलाई लडाउने काम भइरहेको छ।’

सुदूरपश्चिम प्रदेशसभामा अन्य राजनीतिक दलले आफ्नो पार्टीको संसदीय दलको नेता छनोट गरिसकेका छन्। ठूलो दल कांग्रेस भने आजसम्म दलको नेता छनोट गर्ने विषयमा अलमलमै छ।

प्रदेशसभामा एमालेले राजेन्द्रसिंह रावल, माओवादी केन्द्रले खगराज भट्ट, नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र एकीकृत समाजवादीले दीर्घबहादुर सोडारीलाई पार्टीको संसदीय दलको नेता छनोट गरिसकेको छ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार तथा राप्रपा र स्वतन्त्रका एक÷एक जनाको प्रतिनिधित्व छ। प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु भइसकेको छ।

कांग्रेस नेपाली कांग्रेस सुदूरपश्चिम