Logo
१४ वैशाख २०८१, शुक्रबार

पुस २६ देखि प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार

अक्षरपाटी
२०७९ पुस २२ , शुक्रबार ०३:०१ मा प्रकाशित

काठमाडौं। प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार यही पुस २६ देखि हुने भएको छ।

नेपाल राष्ट्र बैंकले आज एक सूचनामार्फत् प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी एकीकृत कारोबार यही पुस २६ देखि गर्ने गरी तय भएको जनाएको हो।

दुई बैंक एकआपसमा गाभिएपछि प्रभु बैंकका नामबाट एकीकृत कारोबार हुनेछ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन २०७९) को विनियम ११ को उप–विनियम (७) बमोजिम रहेको जनाएको छ।

दुवै बैंकबीच एक बराबर एक अनुपातमा मर्ज हुने भएका हुन्। मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीइओ सेञ्चुरी बैंकका सीइओ मनोज न्यौपाने बन्नेछन्।

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ मा मर्जर सम्झौता भएको थियो। प्रभु बैंकले पनि आज सूचना जारी गर्दै एकीकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनका लागि चार दिन सम्पूर्ण सेवा बन्द हुने जनाएको छ।

बैंकले जारी गरेको सूचनाअनुसार आज राति १० बजेदेखि २६ गते बिहान १० बजेसम्म दुवै बैंकले विभिन्न शाखाबाट प्रदान गर्दै आइरहेको सम्पूर्ण सेवा बन्द रहने जनाएका हुन्। प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड छ भने सेञ्चुरी बैंकको चुक्ता पुँजी नौ अर्ब ५५ करोड छ।