Logo
७ वैशाख २०८१, शुक्रबार

नारायणगढ–मुग्लिन सडक पुस ३० र माघ १ दिउँसो पनि खुल्ने

अक्षरपाटी
२०७९ पुस २४ , आईतबार १०:०१ मा प्रकाशित

चितवन। हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन दिउँसो पनि खुला गरिने भएको छ।

यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिने छ।

तीर्थालुको चाप बढी हुने भएकाले सडक खुला राख्न लागिएको उनले जानकारी दिए। अहिले सो सडकखण्डमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ।

देवघाटमा स्नान गर्न विदेशीसहित देशैभरबाट भक्तजन आउने गर्दछन्। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार पाँच लाखभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको छ।

गएका वर्षहरूमा कोभिडका कारण आउन नपाएकाहरू यस वर्ष आउने अनुमानका साथ तयारी गरिएको उनले बताए।

देवघाटबाट त्रिशूली वारपार गर्ने झोलुङ्गे पुलको मर्मत गरिसकिएको छ। वेणीमा वारपार गर्न २२ वटा ¥याफ्टिङको व्यवस्था गरिएको छ।

दासढुङ्गामा पक्की पुल भएकाले देवघाटको वेणीमा स्नान र दर्शन गर्न चाहनेलाई सोही पुल प्रयोग गर्न आह्वान गरिएको छ। यसका कारण झोलुङ्गे पुल र डुङ्गाको चाप घट्ने अनुमान छ।

नारायणघाट मुग्लिन