Logo
१६ चैत्र २०८०, शुक्रबार

फिलीपिनो मुलकी श्रीमतीको प्रेरणा : ‘फुड ट्रक’बाट मनग्य आम्दानी

अक्षरपाटी
२०७९ पुस २४ , आईतबार १०:०१ मा प्रकाशित

मोरङ । मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बनेकी छन् ।

कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति जंगबहादुर विश्वकर्मालाई नेपालमै काम गर्नका लागि ग्रान्डाले प्रोत्साहित गरिन। ती दम्पतीले अहिले ‘फुड ट्रक’ सञ्चालन गरी प्रशस्त आम्दानी गरिरहेका छन्।

विश्वकर्मा र ग्रान्डाले फुड ट्रक सञ्चालन गरिरहेका छन्। फुड ट्रक भनेको चार चक्के गाडीमा मांसाहारी र शाकाहारी खानाका विभिन्न परिकार पकाएर बिक्री गर्ने होटल हो।

विराटनगर–४ को कञ्चनबारीको सडक छेउमा यी दम्पतीले दिनको ३ बजेदेखि बेलुकीको ७ बजेसम्म फुड ट्रक चलाउने गरेका छन्। विराटनगरमा यो एकमात्र फुड ट्रक हो। फुड ट्रकबाट दैनिक १५ देखि २० हजारसम्मको व्यापार हुने गरेको छ।

०५२ मा दुबईको स्पिनिस क्याटेरिङमा व्यवस्थापक पदमा काम गर्न विश्वकर्मा दुबई गएका थिए। त्यहीको अर्को कम्पनी केयरफोरमा काम गर्ने फिलिपिन्सकी महिला ग्रान्डासँग विश्वकर्माको प्रेम बस्यो। ०७५ मा दुवै स्वदेश फर्किएर अदालतमा आधिकारिक विवाह गरे।

विसं ०७६ चैत ११ गतेदेखि देशमा कोरोनाका कारण लकडाउन लागेपछि विश्वकर्मा र ग्रान्डालाई पनि आर्थिक समस्या प¥यो।

लकडाउन खुल्नेबित्तिकै विश्वकर्माले पुनः वैदेशिक रोजगारमा जाने तयारी गर्न थाले। तर ग्रान्डाले नेपालमै प्रशस्त सम्भावना देखिन र आफ्ना श्रीमानलाई नेपालमा नै व्यवसाय गर्न प्रेरित गरिन्।

चार चक्के गाडीमा विभिन्न खानेकुराको परिकार बनाएर घुम्ती होटलको व्यवसाय चलाउनु विदेशमा सामान्य हो। क्याटेरिङमा काम गरेका विश्वकर्मालाई खाना बनाउने ज्ञान थियो।

ग्रान्डाको सल्लाह र सुझावमा विश्वकर्माले गाडी किने र होटलको आकार दिए। यसमा उनको २२ लाख खर्च गरे।

गाडीवाला होटलले हाल दैनिक २० हजारसम्मको कारोबार गर्ने गरेको छ। शान्त र जति पनि अवसर रहेको नेपाल छाड्न मनै नलागेको ग्रान्डाले बताइन्।

उनले वैदेशिक रोजगारीमा जाने युवायुवतीका लागि नेपालमै प्रशस्त अवसर रहेको पनि सुनाइन्। तीन महिनाअघि मात्र नेपाली नागरिकता पाएकी ग्रान्डा आफ्ना श्रीमान् विश्वकर्मासँग अङ्ग्रेजीमा वार्तालाप गर्छिन भने ग्राहकसँग मज्जाले नेपालीमा कुराकानी गर्छिन।

विराटनगर–४ स्थित नोबेल मेडिकल कलेजका चिकित्सक डा सूर्यप्रकाश सोनीले आफू फुड ट्रकको नियमित ग्राहक भएको बताए।

उनले फिलिपिन्सकी महिलाको मेहेनत देखेर आफू दङ्ग हुने गरेको सुनाए। विराटनगर–२ की रेणुका श्रेष्ठले गाडीमा पकाएको खाना स्वादिष्ट हुने गरेको अनुभव सुनाइन्।

उनले फिलिपिन्सबाट आएकी ग्रान्डाबाट विदेश जान खोज्ने युवायुवतीले धेरै कुरा सिक्न सक्ने बताइन । जाँगर भए नेपालमा प्रशस्त आम्दानी गर्न सकिने भन्ने उदाहरण ग्रान्डाले प्रस्तुत गरेका श्रेष्ठले बताइन्।

फुड ट्रक