Logo
१५ चैत्र २०८०, बिहीबार

तीन रुपैयाँ घट्यो पेट्रोलियम पदार्थको मूल्य, हवाई इन्धनमा २० रुपैयाँ कम

अक्षरपाटी
२०७९ पुस २४ , आईतबार ०९:०१ मा प्रकाशित

काठमाडौं। पटकपटक भारतबाट मूल्य घटेर आउँदा पनि मूल्य नघटाएको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल÷मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को खुद्रा बिक्री मूल्य घटाएको हो।

निगमले पेट्रोल र डिजेल-मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर २० रुपैयाँ घटाएको छ।

मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५, डिजेल-मट्टितेलको मूल्य प्रतिलिटर एक सय ७२, हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ७० र हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य प्रतिलिटर १.४२ अमेरिकी डलर कामय भएको निगमले जनाएको छ।

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७८, डिजेल-मट्टितेलको मूल्य प्रतिलिटर एक सय ७५ र हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर एक सय ९० र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.६४ अमेरिकी डलर रहेको थियो।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ। हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार आठ सय कायम छ।

प्रधानमन्त्री दाहालले गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिएका थिए। वाणिज्य तथा आपूर्ति सचिव निगम सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था छ।

आयल निगम पेट्रोलियम