Logo
१५ वैशाख २०८१, शनिबार

एकल महिलाका लागि ‘उपमेयर मेरो साथी’

अक्षरपाटी
२०७९ पुस २६ , मंगलबार ०९:०१ मा प्रकाशित

डोटी । डोटीमा एकल महिलाका लागि ‘उपमेयर मेरो साथी’ कार्यक्रम सञ्चालन भएको छ । जिल्लाको शिखर नगरपालिकाले नगरपालिकाभित्र रहेका एकल महिलालाई महिना दिन खान पुग्ने गरी सो कार्यक्रम मार्फत खाद्यान्न वितरण गरिएको छ ।

सोमबार नगरभित्रका ९० एकल महिलालाई चामल, दाल, चिनीलगायतका खाद्यान्न उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

कमजोर आर्थिक अवस्था र समाजमा बेसहारा भएका महिलालाई आत्मबल बढाउन तथा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरेको नगरउपप्रमुख सुनिता रावलले बताइन् । नगरपालिकाभित्रका हरेक समस्यालाई नगरपालिकाले प्रथमिकताका आधारमा कार्यान्वयन गर्ने उनले प्रतिवद्धता जनाइन् ।

राहत सामग्री सानो भए पनि एकल महिलालाई सम्झेकामा शिखर नगरपालिका धन्यवादको पात्र रहेको सरस्वती बलायरले बताइन् । आयस्रोत नभएकाले अरुको जमिन खनजोत, गोडमेल गरेर पेट पाल्दै आएको दुःखेसो गर्दै उनले खाद्यान्न सहयोगले राहत पुगेको प्रतिक्रिया दिइन् ।

आयस्रोत नभएकाले एकल महिलाका लागि उपमेयर मेरो साथी कार्यक्रम धेरै प्रभावकारी भएको सहभागीले बताएका छन् । नगरभित्रका टुहुरा बालबालिका, एकल महिला, ज्येष्ठ नागरिक, अतिविपन्न परिवारलाई नगरपालिकाले विभिन्न कार्यक्रममार्फत सहयोग गरिरहेको नगरप्रमुख दीर्घबहादुर बलायरले बताए । नगरभित्र विकास निमार्णका लागि गुरुयोजना बनाई शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, बिजुली, सडकलगायतका योजनामा बढीभन्दा बढी कार्यान्वयन ल्याउनका लागि आवश्यक बजेट विनोयोजित गरी जनताका हरेक दुःखसुखमा नगरपालिका लागिपरेको उनको भनाइछ ।

जनताका समस्या समाधान गर्नका लागि नगर सरकार लागिपरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत परमानन्द शर्माले बताए । नगरका नागरिकको समस्या समाधानसँगै आवश्यकताका आधारमा योजना बनाई नगरपालिका लागिपरेको शर्माले बताए । टुहुरा बालबालिका, अपाङ्गता, एकल महिला, अनाथ, विपन्नका लागि नगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम सञ्चालन गरी सम्मान गरिरहेको जनाइएको छ ।