Logo
१५ वैशाख २०८१, शनिबार

आफू नेतृत्वको गठबन्धनलाई धोका दिएर हिँडेका दाहाललाई विश्वासको मत दिने देउवाको घोषणा

अक्षरपाटी
२०७९ पुस २६ , मंगलबार ०२:०१ मा प्रकाशित

काठमाडौं। आफ्ना दुई महामन्त्रीलगायत पाँच जना वरिष्ठ नेताको विरोधका वावजुद नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने घोषणा गरेका छन्।

उनले संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन्। यद्यपित एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको घोषणा संसदीय राजनीतिमा नयाँ भाष्य भएको र सरकारमा चलखेल गर्न खोले जाल रित्तै बनाइदिने प्रतिक्रिया दिएका छन्।

विश्वासको मत लिने प्रधानमन्त्री दाहालको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले संसद विघटन गर्न सकिने एमाले अध्यक्षको अभिव्यक्तिमा आफ्नो ध्यानाकर्षण भएको बताए।

हिजो ओलीले संसद विघटन गर्दा वर्तमान प्रधानमन्त्रीसहित आफूहरु एक ठाउँमा उभिएको र सर्वोच्च अदालतले पनि संसद पुनस्थापना गरेको भन्दै देउवाले भने, ‘आज फेरि वर्तमान सत्ता गठबन्धनको प्रमुख घटकले तीनै संवैधानिक व्यवस्थालाई चुनौती दिएको अवस्थामा संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती हाम्रासामू आएको छ। वर्तमान प्रधानमन्त्रीका लागि यो पनि परीक्षाको घडी हो।’

संविधानको रक्षाका लागि उभिने विश्वासका साथ प्रधानमन्त्रीका लागि विश्वासको मत दिने उनले बताए। यद्यपि आफ्नो दल प्रतिपक्षमा बस्ने र सरकारको गुण र दोषका अधारमा विरोध वा समर्थन गर्ने देउवाले बताए। उनको निर्णयलाई लिएर पार्टीभित्रै असन्तुष्टि र आलोचना चुलिएको छ।