Logo
१४ वैशाख २०८१, शुक्रबार

पृथ्वीनारायणका उपदेशको महत्व उत्तिकै : राष्ट्रपति भण्डारी

अक्षरपाटी
२०७९ पुस २७ , बुधबार १०:०१ मा प्रकाशित

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छन्।

पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तत्कालीन समयमा पृथ्वीनारायणले लिएको लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको सन्देशमा उल्लेख गएको छ।

“स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न, जनतालाई अधिकारसम्पन्न बनाई राज्यसँग अपनत्वको भाव कायम राख्न तथा कुशल परराष्ट्र सम्बन्ध सञ्चालन गर्नसमेतका बहुआयामिक क्षेत्रमा हामीले पृथ्वीनारायण शाहका उपदेशलाई सर्वकालिक सन्दर्भसामग्रीका रूपमा लिन सक्दछौँ”, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ।

तत्कालीन समयमा छरिएर रहेका साना राज्यहरूको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु हाम्रो इतिहासको विशिष्ट एवं गौरवपूर्ण अध्याय भएको पनि उनले उल्लेख गरिन्।

“तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल निर्माणको अभियानलाई दशकौँसम्म हाम्रा वीर पुर्खाले अगाडि बढाएकै हुनाले नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व कायम रहन सकेको ऐतिहासिक यथार्थ हामी सबैले आत्मसात गर्नु पर्दछ”, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ।

वर्तमान समयका उपलब्धिमा गौरवबोध गरिरहँदा पूर्वजहरूले इतिहासमा गरेका त्याग र बलिदानप्रति उत्तिकै सम्मान व्यक्त गर्न आवश्यक रहेको राष्ट्रपतिले शुभकामना सन्देशमा भनेकी छन्।

राष्ट्रपति