Logo
१४ वैशाख २०८१, शुक्रबार

कनकाई र कचनकबलले बनाए राष्ट्रनिर्माता पृथ्वीनारायणको सालिक

अक्षरपाटी
२०७९ पुस २७ , बुधबार १०:०१ मा प्रकाशित

झापा, २७ पुस । झापाको कनकाई नगरपालिका कार्यालय प्रवेश गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिला ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन’ भन्ने दिव्योपदेश दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकले तपाईँको ध्यान आकर्षित गर्नेछ।

कनकाई–१ स्थित पूर्वपश्चिम राजमार्गबाट सय मिटर दक्षिणतिर प्रवेशद्वारमा स्थापित पूर्णकदको पृथ्वीनारायणको सालिकले नागरिकलाई एकीकरणकर्ताको योगदानहरूको सुखद् स्मरण गराउने राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशव ओझा बताउछन्।

“कनकाई नगरपालिकामा धेरैपटक पुगेको छु, मलाई ढोकैमा नेपालको एकीकरणकर्ता पृथ्वीनारायणको सालिक देख्न पाउँदा गौरवबोध हुन्छ”, बिर्तामोडको हिमाली माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापकसमेत रहिसकेका ओझा भन्छन्, “सङ्घीय सरकारले भर्खर राष्ट्रिय बिदा दिनुपर्ने जनस्तरको मागलाई स्वीकार गर्दैछ । तर कनकाई नगरले आफ्नै विवेकले राष्ट्रनिर्माताको पहिल्यै यथोचित सम्मान ग¥यो।”

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले राष्ट्रनिर्माता पृथ्वीनारायणलाई राजमार्गमा हिँड्ने हरेक यात्रीले देखुन् र सम्मान अर्पण गर्न सकुन् भनेर नगरपालिका जाने प्रवेशद्वारमै सालिक स्थापना गरिएको बताए।

पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जयन्ती हो भने आजको दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने गरिन्छ।

गत वर्ष यही दिवस पारेर कनकाई नगरपालिकाले सालिकको अनावरण गरेको थियो । नगरपालिकाको बोर्ड बैठकमा नगरप्रमुख पोखरेलले सालिक निर्माणको प्रस्ताव विसं २०७७ मै गरेका थिए। उनी यसपटक दोस्रो कार्यकालका लागि नगरप्रमुख निर्वाचित भएका छन्।

“मैले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभएको हुँदा उहाँको सम्मानमा एउटा सालिक बनाउनुपर्छ भनेर नगर बोर्डमा प्रस्ताव लैजाँदा सबैले समर्थन गर्नुभयो”, उनले भने, “बोर्डका साथीहरूसँग बाहेक जनजाति सङ्गठन र नगरभित्रका राजनीतिक दलहरूसँग पनि सल्लाह गरेका थियौँ, सबै सकारात्मक हुनुभयो।”

नगरपालिकाले पृथ्वीनारायण शाहको सालिक निर्माणका लागि सात लाख बजेट विनियोजन गरेको थियो। झापाका मूर्तिकार हिम्मत नेम्वाङले मोरङको मिक्लाजुङबाट ल्याइएको एउटै ढुङ्गामा पृथ्वीनारायण शाहको उक्त सालिक कुँदेका हुन्।

नगरको यो सालिक अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको छ। नजिकैको जामुनखाडी, हेप्पील्यान्ड, धनुषकोटीधाम, कोटीहोम र दोमुखामा घुमघामका लागि आउने आन्तरिक पर्यटक सालिकमा रोकिएर सेल्फी फोटो खिचाउने गर्छन्।

यसपालि कनकाई नगरपालिकाले ‘पृथ्वीनारायण शाह र आधुनिक नेपाल’ विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार न्यौपानेले जानकारी दिए।

नगरभित्रका विद्यालय प्रतियोगितामा सहभागी थिए। आफ्नै बजेटमा पृथ्वीनारायण शाहको सालिक बनाउने कनकाई नगरपालिका नेपालकै पहिलो पालिका भएको उनले दाबी गरे। झापाको कचनकबल गाउँपालिकाले समेत वडा नंं ५ पाठामारीमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक निर्माण गरेको छ।

पूर्वअध्यक्ष अन्जार आलमले वडा कार्यालयले जग्गाको व्यवस्था मिलाएपछि पालिकको ६ लाख बजेटबाट सालिक निर्माण गरिएको जानकारी दिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित पूर्वअध्यक्ष आलमले पार्टीले नै पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतीक र राष्ट्र निर्माताको रूपमा सम्मान गर्ने नीति लिएको हुँदा सालिक बनाइएको बताए।

आदिवासी राजवंशी र मुस्लिम धर्मावलम्बीको बाहुल्य रहेको कचनकबलमा निर्मित पृथ्वीनारायण शाहको सालिकमा हरेक वर्ष पुस २७ गते विशेष कार्यक्रमको आयोजना हुने गरेको छ।