Logo
१३ वैशाख २०८१, बिहीबार

अण्डा, मासु र चल्लाको आयात रोक्न गृहमन्त्रीको निर्देशन

अक्षरपाटी
२०७९ पुस २८ , बिहीबार ०३:०१ मा प्रकाशित

काठमाडौं २८ पुस । गृहमन्त्री रवि लामिछानेले नेपाल भित्रिने अवैध अण्डा, मासु र चल्लाको आयात रोक्न सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । गृहमन्त्री बनेपछि पहिलो पटक चितवन पुगेका लामिछानेले जिल्लामा कुखुरापालनसँग सम्बन्धित व्यवसायीहरुसँग छलफल गरेका थिए । त्यस क्रममा व्यवसायीले भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारणस्वदेशी व्यावसायी मर्कामा परेको गुनासो गरेका थिए ।

लामिछानेले त्यहीँबाट नेपालगञ्ज, सिन्धुली र सर्लाहीका सुरक्षा अधिकारीहरुलाई टेलिफोन गरेर अवैध आयात रोक्न निर्देशन दिएका नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिका पोखरेलले जानकारी दिए । गृहमन्त्री लामिछानेले पोल्ट्री क्षेत्रमा परेका समस्याको समाधान गर्न आफूले सक्दो सहयोग गर्ने बताए । नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले कुल राष्ट्रिय आयमा चार प्रतिशतको योगदान गर्ने, हजारौंलाई रोजगारी दिने आत्मनिर्भर व्यवसाय कुखुरापालन धराशायी भएको गुनासो गरे ।

भारतीय मासु तथा चल्लाहरू निर्वाध भित्रिएको, दानाको कच्चा पदार्थको मूल्यवृद्धि भएको, बैंकको ब्याजदर बढेको र लागत अनुसारको मूल्य पाउन नसकेका कारण साना लगानीका व्यावसायी पलायन भइसकेको र ठूला व्यवसायी पलायनको नजिक पुगेको उनले बताए । केही समयपछि बीरगञ्ज लगायतका क्षेत्रमा स्थलगत अध्ययनका लागि जाने पोखरेलले बताए ।

नेपालमा भन्दा भारतमा उत्पादन लागत कम हुने भएकाले भारतमा कुखुराको चल्ला, मासु र अण्डा सस्तो पर्छ । त्यसैले सीमावर्ती क्षेत्रबाट कुखुरा तथा कुखुराजन्य वस्तुहरू नेपाल भित्रिने गरेको पोल्ट्री विज्ञ डा.तिलचन्द्र भट्टराईले बताए । भारतमा बिक्री गर्न नमिल्ने गरी बुढा भएका कुखुरा नेपालमा सस्तोमा आउने हुँदा यहाँको उत्पादनले मूल्य नपाएको व्यवसायीहरुको बताउँछन् । ब्रोइलर कुखुरा २८ देखि ३५ दिनभित्रको खान उपयुक्त हुन्छ । तर बजारमा बुढा कुखुराको रेशा भएको मासु आउने गरेको व्यवसायीहरु बताउँछन् ।