Logo
१६ चैत्र २०८०, शुक्रबार

सडक निर्माणको काम अलपत्र पार्नेलाई नातासम्बन्धका आधारमा छुट हुँदैन : श्रेष्ठ

अक्षरपाटी
२०७९ पुस २९ , शुक्रबार १०:०१ मा प्रकाशित

काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माणको काम अलपत्र पार्ने जो कोहीलाई कारबाही गरिने बताएका छन्।

पटक, पटक काठमाडौं उपत्यकाका सडकहरू भत्काउने समस्या समाधानका लागि पहल थालेको बताउँदै उनले अब घरबेटी वा नातासम्बन्धका आधारमा कसैले छुट नपाउने बताएका हुन्।

मन्त्रालय र सडक विभागले बनाएका सडक विभिन्न निकायहरूले भत्काउने र टाल्ने गरेको भन्दै आलोचना भइरहेका बेला उपप्रधानमन्त्री श्रेष्ठले समस्या समाधानका लागि पहल थालेका हुन् ।

उनले आज काठमाडौंको सोह्रखुट्टे, पानीपाखरी र नयाँ बजार क्षेत्रको अनुगमन गर्दै कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने बताए।

श्रेष्ठले समस्या समाधानका लागि यसअघि हिजो मन्त्रालयमा सरोकारवाला निकायका पदाधिकारी बोलाएर छलफल गरेका थिए।

बैठकमा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मेलम्ची खानेपानी आयोजनाका निर्देशक राजेन्द्र सापकोटा, काठमाडौं उपत्यका खानेपानी लिमिटेका प्रबन्ध निर्देशक ज्ञानेन्द्र कार्की, नेपाल दूरसञ्चार संस्थानकी उपमहानिर्देशक विनिता प्रधान तथा मन्त्रालय र अन्तर्गतका सहसचिवहरूको उपस्थिति थियो ।

सडक विभागले बनाएका सडक प्राधिकरण, खानेपानी, दूरसञ्चार जस्ता सरकारी निकायहरूले नै भत्काउने गरेको भन्दै आलोचना भइरहेको बेला श्रेष्ठले समन्वयमा काम गर्न भविष्यमा त्यस्तो हुन नदिनका लागि निर्देशन दिइसकेका छन्।