Logo
१३ वैशाख २०८१, बिहीबार

आज पनि पाएन सुदूरपश्चिमले सभामुख

अक्षरपाटी
२०७९ पुस ३० , शनिबार ०८:०१ मा प्रकाशित

धनगढी। सुदूरपश्चिम प्रदेशसभाले शनिबार पनि सभामुख चयन गर्न सकेन।

सत्ता गठबन्धन र नेपाली कांग्रेसबाट सभामुखका दुवै उम्मेदवारले बराबर मत प्राप्त गरेपछि सुदूरपश्चिम प्रदेशले दोस्रोपटक पनि सभामुख पाउन नसकेको हो।

नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद तटस्थ बसेपछि सभामुखका उम्मेदवार माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारी र कांग्रेस सांसद मानबहादुर रावलले निर्वाचित हुनका लागि आवश्यक ५१ प्रतिशत मत पाएनन्।

सत्ता गठबन्धनको उम्मेदवार भण्डारीलाई सभामुख चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा जम्मा २२ मत प्राप्त भयो । जबकी ५३ सदस्यीय प्रदेशसभामा सभामुख निर्वाचित हुन २७ मत ल्याउनैपर्छ । त्यस्तै नेपाली कांग्रेसका सभामुखका उम्मेदवार मानबहादुर रावलले पनि २२ मत नै पाए।

सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयनका लागि यसअघि बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २६ मत पाएका थिए भने कांग्रेसका रावलले २३ मत पाएका थिए।

प्रदेश सभामा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक प्रदेशसभा सदस्य छन्। प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन्।