Logo
७ वैशाख २०८१, शुक्रबार

उपप्रधानमन्त्री तथा गृहमन्त्री रविले भने : न्याय दिन नसक्ने अवस्था आए राजीनामा दिन्छु

अक्षरपाटी
२०७९ पुस ३० , शनिबार ०८:०१ मा प्रकाशित

काठमाडौं। गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा न्याय दिनसक्ने अवस्था आए राजीनामा दिने बताएका छन्।

उनले अनुसन्धानमा भए, गरेका कामलाई पारदर्शी रुपले जहाँ भन्यो त्यहीँ प्रस्तुत गर्नेसमेत वचनवद्धता गरे।

उनले भने,‘कुनै कैफियत देखिए पदबाट राजीनामा दिन्छु। तर न्याय दिलाउन केही समय लाग्नसक्छ, त्यसका लागि धैर्य गरिदिनहुन विनम्र अनुरोध गर्छु।’

कुर्मी अपहरण र हत्या भएको आरोप लगाउँदै तेस्रो चरणमा काठमाडौंको माइतीघरमा १७ दिनदेखि संघर्षमा रहेका महिलालाई सडकमै भेटेर गृहमन्त्री लामिछानेले मुद्दाको गहिरो अनुसन्धानका लागि समय दिन आग्रह गरेका हुन्।

मन्त्री लामिछानेले आफूलाई विश्वास गर्न र कठ्यांग्रिदो चिसोमा सडक संघर्ष नगरेर घर फर्किन पटकपटक आग्रह समेत गरे। उनले आफू कसैको दबाबमा नपरेर न्यायका लागि आफै पहल गर्ने समेत बताए।

उनले भने, ‘तपाईँको परिवारले न्याय पाउँदा सबैभन्दा बढी खुशी हुने पहिलो हक कसै अरुलाई होला, तर खुशी हुने दोस्रो व्यक्ति म हुनेछु।’