Logo
१६ चैत्र २०८०, शुक्रबार

विमान दुर्घटनामा पर्ने ६४ जनाको शव भेटियो, सरकारद्वारा जाँचबुझ आयोग गठन, सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन

अक्षरपाटी
२०७९ माघ १ , आईतबार ०४:०१ मा प्रकाशित

पोखरा। यती एयरको विमान दुर्घटनामा परेर मृत्यु भएका ६४ जनाको शव फेला परेको छ।

४ जना चालक दलका सदस्यसहित ७२ जना सवार जहाज आज बिहान १० बजेर ५२ मिनेटमा सेती नदीको खोँचमा खसेको थियो। खोँचमा खसेलगत्तै विमानमा आगलागी भएको थियो।

उद्धार गरिएका मध्ये ३२ शव अस्पतालमा पुर्याएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको गण्डकी मेडिकल कलेज (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा सनाखतको काम थालिएको छ। विमानमा रहेका यात्रीका आफन्त तथा परिवारका सदस्यलाई देखाएर शवको सनाखत गर्न लागिएको हो।

३२ शव सेती नदीको खोँचमा रहेको र उद्धारको काम भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।

विमान दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषदको आपतकालीन बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको अध्यक्षतामा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। आयोगले ४५ दिनभित्र छानविन गरेर प्रतिबेदन बुझाउन समय दिइएको छ।

सरकारले आन्तरिक तर्फका सबै विमानको अनिवार्य प्राविधिक परीक्षण गराउनुपर्ने र त्यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले कडा रुपमा गर्न निर्देशन दिएको छ।