Logo
१४ वैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम र कर्णालीका हिमाली जिल्लामा हिमपात,देशका धेरै ठाउँमा तुवाँलो

अक्षरपाटी
२०७९ माघ ६ , शुक्रबार १०:०१ मा प्रकाशित

काठमाण्डौ । लामो समयदेखि पानी नपर्दा वायुमण्डलमा प्रदूषण थुप्रिदा देशका धेरै ठाउँमा तुवाँलो लागेको मौसमविद्ले बताएका छन् ।

यसपालिको हिउँदमा अहिलेसम्म जमिन भिज्ने गरी पानी परेको छैन । केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि जमिन भिज्ने गरी पानी नपर्दा सुक्खापन बढेको छ । केही दिनयता देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुँदै आएको छ । तर पानी भने पर्न सकेको छैन ।

हिजो बिहीवार सुदूरपश्चिमका केही ठाउँमा फाट्टफुट्ट पानी परेको थियो । आज शुक्रवार पनि कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तत्काललाई जमिन भिज्ने गरी पानी पर्ने सम्भावना छैन । तर अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात भने भइरहेको छ । एक र दुई दिनको मौसम अब यस्तै रहने उहाँले बताउनुभयो ।

काठमाण्डौसहित पहाडी जिल्लाको मौसम पनि आंशिकदेखि सामान्य बदलीको अनुमान छ । अहिले तुवाँलो लागेका ठाउँमा बिहान १० र ११ बजेपछि भने सफा हुँदै जाने मौसमविद् पौडेलले बताउनुभयो । मौसम बदली भइरहेकोले  पहाडी जिल्लाको अधिकतम तापक्रम पनि घट्न थालेको छ ।  तापक्रम घट्न थालेकाले चिसो बढेको छ ।

यस्तै मौसमविद् वरुण पौडेलका अनुसार अहिले पूर्वी र मध्य तराईका जिल्लामा बाक्लो हुस्सु कुहिरो लागेको छ । पश्चिम तराईमा भने मौसम सामान्यतया सफा नै रहेको उहाँले जानकारी दिनुभयो ।