Logo
१३ वैशाख २०८१, बिहीबार

सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र आवश्यक : प्रधानमन्त्री दाहाल

अक्षरपाटी
२०७९ माघ ६ , शुक्रबार ०४:०१ मा प्रकाशित

काठमाडौं, ६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र आवश्यक भएको बताएका छन्।

आज सिंहदरबारमा नेकपा (बहुमत)का नेता धमेन्द्र बास्तोलाको नेतृत्वको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका हुन्।

संविधानमा समाजवादोन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा लेखिएको नभै नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस छलफल चलिरहेको बताए। नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीहरूबीच छलफल सुरू भएको पनि उनले जानकारी दिए।

भेटका क्रममा नेकपा बहुमतका नेताहरूले प्रधानमन्त्रीसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेका थिए।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिए। सरकारको न्यूनतम साझा कार्यक्रममा ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय समेटिएको उनले जानकारी दिए।

प्रधानमन्त्री दाहालले भने, ‘राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध छ। अहिलेको परिस्थितिमा कसरी अधिकतम काम गर्न सकिन्छ भन्नेमा चनाखो छु।’

उनले जनयुद्ध, थारु, मधेस लगायत विभिन्न आन्दोलन र संघर्षका क्रममा जेलमा रहेका बन्दीहरू रिहाइका विषयमा सरकार गम्भीर भएको समेत बताए।