Logo
८ वैशाख २०८१, शनिबार

शेखर समूहको बैठ बत्तिसपुतलीमा, कोइरालाले भने : दाहाललाई विश्वासको मत दिएर गल्ती भयो

अक्षरपाटी
२०७९ माघ ८ , आईतबार ११:०१ मा प्रकाशित

काठमाडौं ८ माघ। नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर गल्ती भएको स्वीकारेका छन्।

काठमाडौंको बत्तिसपुतलीको एक फुडल्यान्डमा भएको संस्थापनइतर पक्षको बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताए।

उनले आफूले तटस्थ बसौँ भन्दा आफ्नो प्रस्तावको सुनुवाइ नै नगरी पार्टीबाट बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको जिकिर गरे।

भेलामा १४ औं महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार भई निर्वाचित भएका पदाधिकारी, उम्मेदवारहरू, केन्द्रीय सदस्यहरू, प्रतिनिधि सभा सांसदहरू र प्रदेश सभापतिहरू सहभागी छन्।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएकोमा संस्थापनइतर समूहका केही नेता असन्तुष्ट छन्।

पार्टीका महत्वपूर्ण निर्णय लिनुपर्दा सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक नराखेको, चुनावी समीक्षा समयमै नगरेकोलगायत गुनासो इतर पक्षका नेताहरुको छ।

सभापति देउवालाई विधानको पालना गराउन संस्थापनइतर समूहले पनि दबाब दिन नसकेको आरोप लाग्ने गरेको छ। सार्वजनिक खपतका लागि गुनासो गरे पनि पार्टीको निर्णायक तहमै बसेका नेताहरुले पनि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसकेको इतर समूहका नेतामाथि आरोप छ।

कांग्रेस शेखर कोइराला