Logo
१५ चैत्र २०८०, बिहीबार

बाजुरामा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प, संरचना भत्किए

अक्षरपाटी
२०७९ माघ १० , मंगलबार ०४:०१ मा प्रकाशित

बाजुरा १० माघ। बाजुराको बिच्छ्या क्षेत्र आसपास केन्द्रबिन्दू बनाएर आज ५.९ रेक्टर स्केलको भूकम्प गएको छ।

दिउँसो २ बजेर ४३ मिनेटमा गएको भूकम्पले भौतिक संरचनामा क्षति पुर्याएको छ। सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का सबैभन्दा बढी महसुस भए पनि यसको धक्का भारतको राजधानी दिल्ली र काठमाडौंसम्म महसुस गरिएको थियो।

भूकम्पपछि स्थानीयका घरहरु भत्किएका छन्। भूकम्पले बाजुराको बडिमालिकामा घर भत्किएको छ भने बझाङ चैनपुरको सन्तोस प्लाजाको ४ तला माथि रहेको मन्दिर भत्किएको तस्बीर स्थानीय शिक्षक नरेन्द्र उपाध्यायले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

बझाङको चैनपुरमा कृषि ज्ञान केन्द्रको भवन भूकम्पले भत्काएको छ। सो भवन हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको थियो।

भूकम्पले पुर्याएको क्षतिको विस्तृत विवरण आउन सकेको छैन। गत कार्तिकमा पनि बझाङको पाटादेवल आसपास केन्द्रबिन्दु बनाएर ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो। जसले डोटीमा मानवीय क्षति पुर्याएको थियो। भूकम्पका कारण फोन नलाग्दा विवरण लिन समस्या भएको छ।

तस्विर : नरेन्द्र उपाध्यायको फेसबुकबाट