Logo
१३ माघ २०७९, शुक्रबार

आत्मदाह गरेका प्रेमप्रसादले उठाएका सवालबारे सरकारले छिट्टै छानविन गर्ने

अक्षरपाटी
२०७९ माघ ११ , बुधबार ०६:०१ मा प्रकाशित

काठमाडौं। मंगलबार आफनै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि आज निधन भएका प्रेमप्रसाद आचार्यले उठाएका सवालबारे सरकारले छानबिन गर्ने भएको छ।

आज बसेको मन्त्रिपरिषदको बैठकले त्यसका लागि गृहमन्त्रालयलाई जिम्मेवारी सुम्पिएको छ। आचार्यले केही व्यापारिक घराना, प्रतिष्ठान, कलेज, व्यक्ति र बैंकले आफूलाई गरिखाने वातावरण नै बन्न नदिएको सामाजिक सञ्जालमा लेखेको आत्मवृतान्तमा उल्लेख गरेका थिए।

उनले उठाएका विषयमा छिटोभन्दा छिटो छानबिन हुने सरकारको भनाइ छ। त्यसका लागि गृहमन्त्रालयले भोलि नै छानबिन आयोग गठन गर्ने तयारी गरेको मन्त्रालय स्रोतले बताएको छ।

सरकारले आचार्यको परिवारलाई क्षतिपूर्ति दिने कि, बालबच्चाको शिक्षा र रोजगारीको लागि पहल गर्नुपर्ने हो भन्ने पनि निर्णय गर्ने बताइएको छ।

आज बिहान उपचारका क्रममा आचार्यको निधन भएपछि देशभरका युवा आन्दोलित भएका थिए। काठमाडौं लगायत सहरमा यो देश हो कि बधशाला, के युवाले देशमै गरिखान खोज्नु अपराध हो सरकार ? जस्ता प्रश्न उठेका थिए।

आजै गृहमन्त्री रवि लामिछानेले आचार्यका परिवारलाई भेटेका थिए। त्यस क्रममा आफूलेजस्तो अवस्था यो देशमा अरुले भोग्नु नपरोस भनेर परिवारजनले अपिल गरेका थिए।