Logo
१४ वैशाख २०८१, शुक्रबार

सामाजिक सञ्जाललाई पनि नियमन गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

अक्षरपाटी
२०७९ माघ १२ , बिहीबार ०५:०१ मा प्रकाशित

काठमाडौं १२ माघ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन र व्यवस्थापन गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल पनि आम सञ्चारमाध्यमको रुपमा स्थापित हुन खोजिरहेको भन्दै उनले त्यसलाई सरकारले नियमन तथा व्यवस्थापन गर्नुपर्ने विचार व्यक्त गरे।

बिहीबार काठमाडौंमा आयोजित आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धि गोष्ठीमा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्न सक्छ कि सक्दैन ? भन्दै प्रश्न समेत गरे।

थपलियाले सबै सञ्चार माध्याममा प्रकाशित र प्रशारित हुने सामग्री स्वतः आउने गरी सफ्टवेयरको विकास गरेर अनुगमन गर्न पनि काउन्सिललाई सुझाव दिए।

‘हामीले यस्तो सफ्टवेयर डेभलप्ट गर्नुपर्छ जसले आधिकारिक रुपमा प्रशारण हुने विषय प्रशारण हुनासाथ स्वतः प्रेस काउन्सिलको त्यो सफटवेयरमा आउने व्यवस्था होस। अनधिकृत रुपमा प्रकाशित प्रसारित हुने विषय त हामी के गर्न सकौँला र !’ उनले भने, ‘त्यो हेर्नका निमित्त एउटा डेडिकेटेट टिम बनाइदिने वित्तिकै रेडियोले के भने, अनलाईनमा कहाँ के आयो, छापा माध्याममा के आयो ? सामाजिक सञ्जालले के बोल्यो ? भन्ने थाहा हुन्छ।’

उनले सामाजिक सञ्जाल पनि आम सञ्चार माध्यामकै क्षेत्र भएको बताए। उनले भने, ‘मैले यसो भन्यो भने आम सञ्चारको परिभाषा नबुझेको स्वाँठ भनेर तपाइँहरुले भनिहाल्नु होला । बडा अप्ठ्यारो छ। तर मलाई कसैले परिभाषा गर्न दिन्छ भने यदि कुनै पनि सूचना सम्प्रेषण गरेर कसैलाई सुसूचित गराउने माध्यम समाचार माध्यम हुन भने अहिले सामाजिक सञ्जाल पनि समाचार माध्यामको रुपमा स्थापित हुन खोज्दैछन।’

उनले यिनलाई कसले हेर्ने, काउन्सिलले हेर्न सक्छ कि सक्दैन ? भन्ने प्रश्न गरे। जसले गरे पनि यसलाई एउटा दायरामा ल्याएर यसको व्यवस्थापन र नियमन गर्नुपर्ने आग्रह गरे।