Logo
६ वैशाख २०८१, बिहीबार

प्रेमप्रकासको निधनबारे छानविन गर्न समिति गठन

अक्षरपाटी
२०७९ माघ १२ , बिहीबार ०६:०१ मा प्रकाशित

काठमाडौं १२ माघ। विद्यमान वेथिती र विकृतिबाट अवाक भएको भन्दै आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ।

गृह मन्त्रायका सह सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो। अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरिक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक सदस्य रहने गरि समिति गठन गरिएको छ।

आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यससम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाव दिने गरि समितिलाई कार्यादेश दिइएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार आत्मदाहको प्रयास गरी घाइते भएका र उपचारको क्रममा बुधबार बिहान मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो।

आचार्यको निधन पश्चात कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर बुधबार अपरान्ह उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उनका परिवारका सदस्यहरुलाई भेटेर आचार्यले सामजिक सञ्जालमा उठाएका विषयमा छानबिन गरेर समाधान खोज्ने बताएका थिए।