Logo
१६ चैत्र २०८०, शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि स्थगित, जवाफ दिन चाहँदैनन् देउवा !

अक्षरपाटी
२०७९ माघ १२ , बिहीबार १०:०१ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक फेरि स्थगित गरिएको छ।

माघ १५ गते दिउँसो १ बजेका लागि तय भएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लामो समयदेखि बस्न सकेको छैन ।

मंसिर ४ मा सम्पन्न आम निर्वाचन समीक्षार्थ आह्वान भएको बैठक सामना नगरी सभापति शेरबहादुर देउवाले तीन पटक सारिसकेका छन्।

पाँच दलीय गठबन्धन टुटेपछि बालुटारबाट धुम्बाराही सरेका देउवा केन्द्रीय कार्यसमितिको बैठक निरन्तर सारिरहेका छन्।

यसअघि पुस २२ बाट २८ गते सारेको बैठक माघ १५ मा पुर्‍याइएको थियो। त्यो पनि नबस्ने भएको छ।

मंसिर ४ मा सम्पन्न निर्वाचनबाट पार्टी संसदमै ठूलो दल बने पनि तत्कालीन सत्ता गठबन्धनमा सामेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री स्वीकार्नबाट केही नेताले रोक्न खोज्दा कांग्रेसको मुखैमा आएको संघीय र प्रदेश सरकारमा नेतृत्व गर्ने सम्भावना खोसिएको छ।

केही निकट नेताको रायमा कांग्रेसको हातबाट फुत्किएको सत्ताको जवाफ दिन देउवाले नचाहिरकेको कांग्रेस नेताहरु नै बताउँछन्।

देउवाले आफ्नो निवास धुम्बाराहीमा निरन्तर पार्टी पदाधिकारी बैठक भने राखिरहेका छन्। जसको बिरोध पार्टीकै केन्द्रीय सदस्यहरुले गर्दै आएको छन्।

नेपाली कांग्रेस