Logo
१६ चैत्र २०८०, शुक्रबार

यतीको जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

अक्षरपाटी
२०७९ माघ १३ , शुक्रबार ०४:०१ मा प्रकाशित

काठमाडौं १३ माघ। सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटनापछि पोखराको पर्यटन क्षेत्रमा नकारात्मक असर परेको छ।

अंग्रेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको पोखराको पर्यटन व्यवसायमा यती एयरलाइन्सको जहाज दुर्घटनाले ठूलो धक्का लागेको हो।

‘पर्यटनका हिसाबले फेबु्रअरी र मार्च सिजन हो, धेरै पर्यटकले बुकिङ गरेका थिए’, रेवानका पोखरा अध्यक्ष नरेश भट्टराइले भने, ‘तर विमान दुर्घटनापछि बुकिङ रद्द हुन थालेका छन्।’

हवाई दुर्घटनाको असरले २० प्रतिशत बुकिङ रद्द भएको जनाउँदै हवाइ यातायातमा परेको नकारात्मक प्रभाव र सडक पूर्वाधार व्यवस्थित र सहज नहुनु जस्ता कारणले पनि पर्यटक घटेको उनले बताए। पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले पनि बुकिङ रद्द गर्न थालेका छन्।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विमानस्थल सञ्चालनसँगै उत्साहित भएका पर्यटन व्यवसायी माघ १ को घटनापछि भावात्मक र व्यावसायिकरुपमा समेत दुखी भएको बताउँछन्।

होटल सरोवरका सञ्चालक प्रतीक पहारीले पछिल्लो समय आन्तरिक पर्यटकको आगमन उल्लेख्य हुँदै गएकोमा विमान दुर्घटनापछि यो सङ्ख्या निकै घटेको सुनाए।