Logo
१५ चैत्र २०८०, बिहीबार

रवि लामिछानेका सबै पद खारेज, समर्थकद्वारा विरोध प्रदर्शन

अक्षरपाटी
२०७९ माघ १३ , शुक्रबार ०६:०१ मा प्रकाशित

काठमाडौं १३ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको छ ।

अमेरिकी नागरिकता त्यागेपछि उनले कानुनी बाटो अपनाएर नेपाली नागरिकता पुनः प्राप्ति नगरेरै खारेज भइसकेको नागरिकता प्रयोग गरेको ठहर गर्दै अदालतले रविले नेपाली नागरिकका हैसियतमा गरेका सबै कामकारबाही अवैध हुने भनेको छ।

संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज हुने भएको छ। फैसला अनुसार उनले प्रयोग गरेको नागरिकता खारेज भइसकेकाले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिसमेत बन्न अयोग्य भएको व्याख्या गरिएको छ।

लामिछाने प्रतिनिधिसभाको उम्मेदवार हुन अयोग्य रहेको भनेर निर्वाचन आयोगमा समेत उजुरी परेकोमा आयोगले कुनै निर्णय नगरेपछि उनी दोब्बर मतान्तरमा चुनाव जितेका थिए ।

लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्ह थिए ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको हो

अदालतको फैसलाको विरुद्धमा लामिछानेका समर्थकहरूले नाराबाजीसहित प्रदर्शन गरेका छन्।