Logo
८ वैशाख २०८१, शनिबार

आज सहीद दिवश, देशभर मनाइँदै

अक्षरपाटी
२०७९ माघ १६ , सोमबार १०:०१ मा प्रकाशित

काठमाडौं १६ माघ। हरेक वर्ष माघ १६ मा मनाइने सहीद दिवस आज पनि देशभर मनाइँदैछ।

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहीदको सम्झनामा विविध कार्यक्रम गरी देशभर मनाइँदैछ।

सहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ।

यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ।

विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहीदको सम्झनामा दिवस मनाउन थालिएको हो।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।

सहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ।

प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।

यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्ने सहीदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयानुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय सहीद स्मारकमा पनि कार्यक्रमको आयोजना गरिएको छ।

सहीद दिवश